तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुद्वारा पदबाट राजीनामा

कैलाली । कैलालीको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले पदबाट राजीनामा दिनु भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवार बन्न थारुले टीकापुर नगरपालिकाको १८ औँ अधिवेशनको तेस्रो बैठकमा सभाका ज्येष्ठ सदस्य जयराम थारु समक्ष राजीनामा दिनु भएको हो ।

नेपालको संविधानको धारा २१६ को उपधारा ८ अनुसार प्रमुखले उपप्रमुख समक्ष र उपप्रमुखले प्रमुख समक्ष लिखित राजीनामा दिएमा पद रिक्त भएको मानिने व्यवस्था छ । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटालामा संलग्न भनी २०८० माघ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि उपप्रमुख पद पनि तामेलीमा रहेकाले सभाका ज्येष्ठ सदस्य समक्ष राजीनामा दिनु भएको हो ।

थारुले राजीनामा पत्रमा‘२०७४ सालमा वडाध्यक्ष हुँदा एक कार्यकाल नगरप्रमुख, एक कार्यकाल प्रदेश सभा र एक कार्यकाल प्रतिनिधि सभामा उठ्ने योजना बनाएको तर प्रदेशका गतिविधि राम्रा नदेखिएकाले प्रतिनिधि सभामा उठ्ने बिचारले राजीनामा दिएको  बताउनु भएको छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित थारु सो दल नेपाली कम्युनिष्ट पार्टीमा मिलेपछि सोही दलबाट उम्मेदवार बन्न लाग्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button