मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील सूचीमा
मकवानपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि मकवानपुरका १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला सुरक्षा समितिले ६ स्थानीय तहका ती मतदानस्थलहरुलाई अति संवेदनशील, ६० मतदानस्थललाई संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार अनुसार अति संवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ मतदान केन्द्र छन् । सबैभन्दा बढी जिल्लाको बकैया गाउँपालिकामा ५ मतदानस्थलका ७ केन्द्र अति संवेदनशीलमा परेका छन् । यस्तै राक्सिराङमा ६, बागमतीमा ५, भीमफेदी, मनहरी र कैलाशमा एक–एक मतदानस्थल अति संवेदनशील सूचीमा रहेको उहाँले बताउनुभयो ।
यसैबीच मतदाता सङ्ख्या बढेकाले यस निर्वाचनमा मकवानपुरमा ९ मतदान केन्द्र थप गरी कुल ३७४ केन्द्र बनाइएका छन् । हाल जिल्लामा मतदाता सङ्ख्या ३ लाख १५ हजार ३ सय ३४ पुगेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । निर्वाचन क्षेत्र नम्बर १६२ मतदानस्थल र १७८ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा १०५ मतदानस्थल र १९६ मतदान केन्द्र तोकिएका छन् ।
उम्मेदवारी दर्ताको समय तोकियो
यसैबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दलगत रूपमा समय तालिका तय गरेको हो ।
भोली माघ ६ गते बिहान १० देखि ११ बजेसम्म मंगोल नेशनल अर्गनाइजेसन, ११ देखि १२ रास्वपा, १२ देखि १ एमाले, १ देखि २ राप्रपा, २ देखि ३ नेकपा, ३ देखि ४ कांग्रेस र त्यसपछि एक घण्टा उज्यालो नेपाललाई समय दिइएको छ । स्वतन्त्र उम्मेदवारले बिहान १० देखि ५ बजेसम्म कुनै पनि समयमा मनोनयन दर्ता गर्न सक्ने जनाइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शान्ति सुरक्षा र मतदानस्थलबारे जानकारी गराउनुभएको थियो । हेटौँडा–११ थानाभर्याङस्थित कृषि थोक बजार भवनमा दुवै निर्वाचन क्षेत्रको कार्यालय स्थापना गरिएको छ । उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारसहित १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । मकवानपुर–१ मा १ लाख ५८ हजार ४३५ र मकवानपुर–२ मा १ लाख ५६ हजार ८९९ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्