नेपाली कम्युनिष्ट पार्टीद्वारा कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेश सभा संसदीय दलको नेता चयन गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य मङ्गलबहादुर शाहीलाई ध्वनि मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो ।

दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मङ्गलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनि मतले बहुमतको आधारमा शाहीलाई दलको नेता गरिएको छ ।
दलको नेताका लागि शुक्रबार बसेको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसी समेतले दाबी गर्नुभएको थियो । तर आजको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोड्नुभएको हो । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकता हुनुअघि कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता हुनुहुन्थ्यो । गएको मङ्सिर १७ गते दलको नेताबाट उहाँले राजीनामा दिएर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा हाल आवद्ध हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्