कर्णालीमा निर्वाचन प्रहरीका लागि १८ हजार बढीको आवेदन
सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा १८ हजार बढीले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।

कर्णालीमा १० हजार ७ सय ५२ जनाको कोटा निर्धारण गरिए पनि १८ हजार १ सय ६४ जनाले आवेदन दिएका हुन् । नेपाल प्रहरी मार्फत ९ हजार ७ सय ४३ र सशस्त्र प्रहरी बल मार्फत १ हजार ९ जनाको कोटा माग गरिएको थियो । तीमध्ये नेपाल प्रहरी मार्फत १७ हजार ३२ र सशस्त्र प्रहरी बल मार्फत १ हजार १ सय ३२ जनाले आवेदन दिएका हुन् । निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन सहज होस् भन्ने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मार्फत आवेदन माग गरिएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) मोहनजंग बुढथापाले अन्य जिल्लाभन्दा सुर्खेतमा कोटाभन्दा दोब्बर बढीले आवेदन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन खुलाइएको ७ दिनमै ४ हजार ३ सय ७८ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा अधिकांश युवाहरू रहेका छन् । निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको रहने छ ।








प्रतिक्रिया राख्नुहोस्