डडेल्धुरा लगायत पाँच जिल्लामा निर्वाचन प्रहरीका लागि कम आवेदन, भर्नाको म्याद दुई दिन थप
डडेल्धुरा। सरकारले फागुन २१ गते हुने सङ्घीय निर्वाचनको शान्ति सुरक्षाका लागि देशभरबाट जिल्लाको आवश्यकता अनुसार निर्वाचन प्रहरीको लागि माघ १ गते सम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो । तर सुदूरपश्चिमका डडेल्धुरा लगायत पाँच वटा जिल्लामा माग अनुसार आवेदन नपरेपछि निर्वाचन प्रहरीको आवेदन म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनि चन्दका अनुसार जिल्लामा १ हजार ४० जनाको माग गरिएको भएपनि आवेदन दिने अन्तिम समय बिहीबार सम्म जिल्लामा ८सय ६ वटा आवेदन मात्र परेकाले १सय ३७ आवेदन कम परेका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले माघ ३ गते सम्म आवेदन दिन सक्ने गरि पुनः सूचना प्रकाशन गरेको जनाउनुभयो ।
डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा भने कम आवेदन परेकाले पुनः म्याद थप गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सूचना मार्फत जानकारी गराएका छन् । यसै गरि डोटीमा ९०,अछाममा १सय १७,बझाङमा ३८,बैतडीमा २सय ५९ निर्वाचन प्रहरीको लागि कम आवेदन परेका छन् ।
प्रदेशको तराइका जिल्लाहरू कैलालीमा १हजार ५सय७५ र कञ्चनपुरमा ८सय ७१ बढी आवेदन परेका छन् । पहाडका दुईवटा जिल्लाहरू बाजुरामा १सय २१ र दार्चुलामा ६ सय ५७ आवेदन बढी परेका छन् ।
युवाको पलायनको असरः निर्वाचन प्रहरीका लागि आवेदन घट्दै
पहाडी जिल्लाबाट बर्सेनि बढ्दो बसाइँसराइ, युवाहरूको पलायन तथा जनसङ्ख्या घट्दै जानु जस्ता कारणले कुनै समय निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन पर्ने अवस्था रहे पनि अहिले त्यो अवस्था नरहेको स्थानीयवासीहरूको बुझाइ छ।








प्रतिक्रिया राख्नुहोस्