तपाईँ सुन्दै हुनुहुन्छः

संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न आयल निगमलाई मन्त्री सिन्हाको निर्देशन

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । 

निगमको ५६औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निगमलाई सबल र प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री सिन्हाले उच्च व्यावसायिकता प्रदर्शनमा निगम सफल हुन सक्नुपर्ने बताउनुभयो । “संस्थागत सुशासनलाई मजबुद बनाएर लैजानुपर्छ”, उहाँले भन्नुभयो, “पारदर्शी, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता दिनुपर्छ ।”

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा रामप्रसाद घिमिरे समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपुण हुनुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button