राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी
बागमती । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशमा छ जनाको उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन जना महिला र तीन जना पुरुष गरी छ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
महिला क्लस्टरतर्फ नेपाली काँग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट सरोज कुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
अन्य क्लस्टरबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिष्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आफ्ना प्रस्ताव र समर्थकसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरूले उम्मेदवार चुनावी अङ्कगणितमा जुटेका छन् ।
एक सय १० सदस्यीय प्रदेशसभा र एक सय १९ स्थानीय तह रहेको बागमती प्रदेशको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । राष्ट्रियसभाका लागि बागमती प्रदेशमा प्रदेशसभाका एक सय १० र पालिकातर्फ दुई सय ३८ गरी तीन सय ४८ मतदाता छन् भने १० हजार तीन ५२ मतभार रहेको छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रदेशसभामा ३७ र स्थानीय तहतर्फ एक सय आठ जना छन् । त्यो अनुसार कांग्रेसको चार हजार १३ मतभार छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीसँग दुई हजार सात सय ३८ मतभार छन् ।
बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई हजार पाँच सय ७१ मत मतभारसहित तेस्रो स्थितिमा छन् । प्रदेशसभामा १३ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सात सय ८ मतभार छ भने नेपाल मजदुर किसन पार्टीको एक सय ९७ मतभार, हाम्रो नेपाली पार्टीको एक सय छ मतभार र स्वतन्त्रको १९ मतभार छन् ।








प्रतिक्रिया राख्नुहोस्