तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरका ऐतिहासिक गढी जोड्दै सेनाको पदयात्रा सुरु

उदयपुर । उदयपुरका ऐतिहासिक गढीहरूलाई एउटै सूत्रमा बाँध्दै नेपाली सेनाको पहलमा विशेष पदयात्रा आजबाट सुरु भएको छ । 

नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्म पाँच दिन लामो ९१ किलोमिटरको पदयात्राको औपचारिक शुभारम्भ गरिएको हो ।

उदयपुरगढी गाउँपालिकास्थित ऐतिहासिक गढी परिसरमा आयोजित समारोहमा नेपाली सेना पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार केसीले पदयात्रीलाई नेपालको राष्ट्रिय झण्डा र नेपाली सेनाको झण्डा हस्तान्तरण गर्दै यात्राको शुभारम्भ गर्नुभएको हो ।

जिल्लामा रहेका प्राचीन गढी–किल्लाको ऐतिहासिक महत्त्व उजागर गर्दै पर्यावरणीय पर्यटनको प्रवद्र्धन र प्रचार–प्रसार गर्ने उद्देश्यसहित सुरु गरिएको यो पदयात्रा पुस २७ गते चौदण्डीगढीमा पुगेर सम्पन्न हुने पशुपति प्रसाद गण, गाईघाट (बोक्से) ले जनाएको छ ।

नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीका अनुसार ऐतिहासिक सम्पदाको संरक्षण, पर्यापर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भूगोल तथा नैतिक शिक्षासँग जोड्ने लक्ष्यका साथ पदयात्रा आयोजना गरिएको हो । यसअघि सात दिनमा सञ्चालन गर्ने योजना रहे पनि यात्रालाई पाँच दिनमा समायोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रम अनुसार पदयात्राको पहिलो दिन उदयपुरगढीबाट ढुङ्ग्रेसम्म १६ किलोमिटर, दोस्रो दिन ढुङ्ग्रेबाट पुवारे भञ्ज्याङसम्म २१ किलोमिटर, तेस्रो दिन पुवारे भञ्ज्याङबाट साउनेसम्म २१ किलोमिटर, चौथो दिन साउनेबाट विरेन्द्रबजारसम्म २४ किलोमिटर र पाँचौँ दिन विरेन्द्रबजारबाट चौदण्डीगढी नगरपालिकास्थित ऐतिहासिक चौदण्डीगढीसम्म १५ किलोमिटरको दूरी तय गरिएको छ ।

पाँच दिनको यात्राका क्रममा पदयात्रा मार्गमा पर्ने विद्यालयहरूमा कविता, निबन्ध, हाजिरी जवाफजस्ता विविध प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको छ । ती कार्यक्रमको व्यवस्थापन तथा सहयोग स्थानीय पालिकाले गर्ने जनाइएको छ ।

पदयात्रालाई थप आकर्षक बनाउन नेपाली सेनाको ऐतिहासिक कालो पोसाकमा सजिएका सैनिकहरूको समेत सहभागिता गराइएको छ । नेपाली सेनासँगै अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा सर्वसाधारणलाई सहभागिताका लागि आह्वान गर्दै सेनाले पदयात्रा अघि बढाएको छ ।

शुभारम्भ समारोहमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र कुमार मगर, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, जिल्लास्थित चारै सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button