तपाईँ सुन्दै हुनुहुन्छः

चिसो र शीतलहरका कारण रौतहटमा शैक्षिक गतिविधि प्रभावित

'जोखिमपूर्ण भवनमा बालबालिकाको पढाइ'

रौतहट। चिसो र शीतलहरका कारण रौतहट जिल्लाको शैक्षिक गतिविधि प्रभावित भएको छ ।

पर्याप्त भौतिक पूर्वाधार नहुँदा चन्द्रपुर नगरपालिका–१० स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी कठ्याङ्ग्रिँदो चिसोमा कक्षा लिन बाध्य छन् ।

पाँच कोठे अर्धपक्की भवनमा सञ्चालन भइरहेको विद्यालयका २० वटा झ्यालमध्ये अधिकांशमा पल्ला छैन । केही झ्यालमा एउटा मात्र पल्ला जडान गरिएको छ भने धेरैजसो झ्याल खुला छन् । यसका कारण कक्षाकोठाभित्र चिसो हावा सिधै पस्ने गरेको छ । चिसो रोक्न विद्यालयले झ्यालमा बोरा ठोकेर अस्थायी रूपमा पठनपाठन गराइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गबाट करिब १२ किलोमिटर दक्षिण–पूर्वमा रहेको विद्यालय स्थापना भएको १९ वर्ष भइसकेको छ । विद्यालयमा दुई वटा भवन छन् । दुई कोठे पक्की भवनमा बालविकास कक्षा र विद्यालय कार्यालय सञ्चालनमा छन् । काठका खम्बामा जस्ताको छानो अड्याइएको अर्धपक्की भवनमा कक्षा १ देखि ५ सम्मका कक्षाहरू सञ्चालन हुँदै आएका छन् ।

तीन सातादेखि निरन्तर बढेको चिसो र शीतलहरका कारण तराई–मधेशका जिल्लाहरू प्रभावित छन् । चन्द्रपुर नगरपालिकाले चिसोको प्रभावलाई मध्यनजर गर्दै एक साता विद्यालय बिदा दिएको थियो । बिदा सकिएपछि आइतबारदेखि विद्यालय खुले पनि झ्याल नहुँदा विद्यार्थीहरू चिसोको प्रत्यक्ष असर झेलिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक आर्यन झाकाका अनुसार झ्यालबाट छिर्ने स्याँठ र चिसो हावाले विद्यार्थी जाडोले काम्न थालेपछि बाध्य भएर बोरा ठोकिएको हो । पल्ला नहुँदा कक्षाकोठामा पठनपाठन गर्न कठिन भइरहेको उहाँले बताउनुभयो ।

सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बाबजुद पठनपाठनलाई निरन्तरता दिन शिक्षक तथा विद्यालय परिवार प्रयासरत रहेको उहाँको भनाइ छ ।

विद्यालयमा देखिएको समस्या यस वर्ष मात्र होइन, प्रत्येक वर्ष दोहोरिने गरेको छ । जाडोयाममा चिसो, गर्मीयाममा तातो हावा र वर्षायाममा पानी कक्षाकोठाभित्र पस्दा पठनपाठन प्रभावित हुने गरेको छ । मौसमकै कारण विद्यार्थी बिरामी पर्ने समस्या पनि देखिने गरेको विद्यालयले जनाएको छ ।

करिब १९ वर्षअघि निर्माण गरिएको अर्धपक्की भवनका काठका खम्बा धमिराले खाइसकेको अवस्थामा छन् । भवनको अवस्था जोखिमपूर्ण देखिएकाले विद्यार्थीको सुरक्षालाई लिएर अभिभावक र स्थानीयवासी चिन्तित छन् ।

कक्षा पाँचकी छात्रा मञ्जुकुमारी साहले झ्याल नहुँदा कक्षाकोठामा बस्न गाह्रो हुने र पढाइमा ध्यान दिन समस्या हुने बताउनुभयो । कक्षा चारका छात्र विक्की महतोले पनि मौसमकै कारण सिकाइ प्रक्रियामा असर परेको प्रतिक्रिया दिनुभयो ।

बालविकासदेखि कक्षा पाँचसम्म पढाइ हुने उक्त विद्यालयमा अधिकांश विद्यार्थी दलित तथा विपन्न समुदायका छन् । विद्यालयमा बालविकास कक्षामा ६७ जना र कक्षा १ देखि ५ सम्म १२५ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रजाई साहले जीर्ण भवन हटाई नयाँ पक्की भवन निर्माणका लागि विभिन्न निकायमा पटक–पटक माग गरिँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गर्नुभयो । उहाँका अनुसार नगरपालिकादेखि पूर्वाधार विकास कार्यालय गौरसम्म बजेट माग गर्दा ‘हुन्छ’ भन्ने आश्वासन मात्रै पाइए पनि हालसम्म बजेट विनियोजन भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button