तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरबाट एमालेका १४ जना उम्मेदवारका लागि सिफारिस

उदयपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी उदयपुरले १४ जनाको नाम सिफारिस गरेको छ । दुई संघीय निर्वाचन क्षेत्र रहेको उदयपुरमा निर्वाचन क्षेत्र नम्बर १ बाट ६ जना र निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ बाट ईश्वरमणि राउत, दुर्गा कुमार थापा (स्वस्ती), धिरेन्द्र दाहाल, परमेश्वर घिमिरे, अस्विन कार्की र सीमा मास्केको नाम सिफारिस गरिएको एमाले उदयपुरका उपसचिव हेम खड्काले जानकारी दिनुभयो । सिफारिस भएका राउत एमाले कोशी प्रदेश सचिवालय सदस्य, थापा बेलका नगरपालिकाका पूर्व नगर प्रमुख, दाहाल प्रदेश कमिटी सदस्य, घिमिरे पूर्व जिल्ला अध्यक्ष, कार्की अखिलका युवा नेता तथा मास्के राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपाल जिल्ला अध्यक्ष हुनुहुन्छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट अम्बर बहादुर रायमाझी, कृष्ण बहादुर थापा, देवराज राई, प्रेम कुमार गौतम, भिम कुमारी राउत, डा. भेषराज थापा, शैलेश लामा र ज्ञानेन्द्र श्रेष्ठको नाम सिफारिस गरिएको छ । रायमाझी निवर्तमान प्रतिनिधि सभा सदस्य हुनुहुन्छ भने राई र डा. थापा प्रदेश कमिटी सदस्य, भिम कुमारी राउत कटारी नगरपालिकाकी पूर्व उपप्रमुख, लामा पूर्व प्रदेश कमिटी उपसचिव तथा श्रेष्ठ कटारी नगरपालिकाका पूर्व मेयर हुनुहुन्छ । कृष्ण बहादुर थापा र प्रेम कुमार गौतम एमाले उदयपुरका सक्रिय नेता हुनुहुन्छ ।

सोमबार नेकपा एमाले जिल्ला कमिटीको बैठक बसेर क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरूलाई अनुमोदन गर्दै प्रदेश कमिटीमा सिफारिस गरेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button