कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा पार्टीको रणनीतिबारे छलफल भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच न्यूनतम सहमति कायम गरेर जानेबारे छलफल भएको र यसबारे अन्तिम निर्णयका लागि भोली फेरी कार्यसम्पादन समितिको बैठक बस्ने नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जनाकारी दिनुभयो ।

प्रवक्ता डा महतले आजको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मत प्रभाव भएका सबै दलहरूसँग छलफल गरी सम्भावित तालमेल गर्नेबारे अन्तरपार्टी छलफलहरू गर्ने निर्णय भएको बताउनुभयो ।
आजको कार्यसमिति बैठकको सुरुमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले सहितसँग तालमेल गरेर जाने विषयमा विभिन्न चरणमा भएका छलफलबारे पार्टी समितिमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनका बारेमा हिजो कांग्रेसका कार्यवाहक सभापति खड्का र नेता रमेश लेखकले नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग छलफल गर्नुभएको थियो ।
प्रमुख राजनीतिक दलहरूसँगको तालमेलबारे भोली टुङ्गो लगाएर बोलीको कार्यसम्पादन बैठकबाट राष्ट्रिय सभाका उम्मेदवारहरूको पनि टुङ्गो लगाउने तयारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।
नेपाली काँग्रेसमा पार्टीको नियमित १५ औँ महाधिवेशन गर्ने कि निर्वाचन अगाडि नै विशेष महाधिवेशन गर्ने भन्नेबारे विवाद भएपछि लगातार केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको छ ।
अघिल्लो बैठकले बहुमतका आधारमा वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भएपछि असन्तुष्ट बनेको विशेष महाधिवेशन समूहको दबाबका कारण आज बैठक बसेको भएपनि महाधिवेशनका बारेमा भने सहमति हुन सकेको छैन ।
यसैबीच आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि नेपाली काँग्रेसका विभिन्न ५ प्रदेश समितिका सभापतिहरूले संयुक्त अपिल जारी गरी विशेष महाधिवेशनको औचित्य सकिएकाले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ ।
नेपाली काँग्रेसको कोशी प्रदेशका सभापति उद्धव थापा, मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले संयुक्त अपिल जारी गर्नुभएको हो ।
विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको भने हस्ताक्षर छैन ।
यस्तै नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्ने पक्षले आज पुनः पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काँग्रेस नेता देवराज चालिसेले विशेष महाधिवेशन तत्काल आह्वान गरियोस् भन्ने ब्यहोराको पत्र बुझाएको बताउनुभयो ।
नेता चालिसेले पार्टी नेतृत्वलाई विधानको धारा १७ (२)ले विशेष महाधिवेशनको परिकल्पना गरेकोले त्यसको मागलाई सम्बोधन गर्नु बाध्यकारी भएको स्मरण गराएको र निर्वाचन अगाडि नै अधिवेशन हुनुपर्ने आफूहरूको माग दोहोर्याएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्