तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा निर्वाचन : मकवानपुरबाट विभिन्न दलद्वारा उम्मेदवारको नाम सिफारिस

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरूले तयारी सुरु गरेका छन् । दलहरू निर्वाचन लक्षित उम्मेदवार सिफारिस लगायतका काममा जुटेका छन् । 

file photo

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) मकवानपुरले दुई वटा निर्वाचन क्षेत्रका लागि ९ जनाको नाम सिफारिस गरेको छ । शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय कमिटी बैठक र आइतबार आज बसेको जिल्ला कमिटी बैठकले दुई निर्वाचन क्षेत्रका लागि ९ जनाको नाम सिफारिस गरेको हो । 

बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजना र क्षेत्र नम्बर–२ बाट दुई जनाको नाम सिफारिस गरेको छ । पार्टीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ को लागि केन्द्रीय सदस्य रामेश्वर राना र प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्व सांसद कृष्णप्रसाद दाहाल, पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बर्तौला र पार्टी नेता सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले सिफारिस भएका नामहरू प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने एमाले मकवानपुरले जनाएको छ । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले जिल्लाको दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट विरोध खतिवडा र विजय गौतमसहित १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ बाट विरोध खतिवडा, रामनारायण विडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरेको छ । 

यस्तै राप्रपाले मकवानपुर क्षेत्र नम्बर एकबाट केन्द्रीय सदस्य दिपक बहादुर सिंहको एकल नाम सिफारिस गरेको छ भने काँग्रेसबाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ सहित ३ जनाको नाम सिफारिस गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button