क्यानद्वारा बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने ट्वान्टी २० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ ।
आइतबार क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा बर्मासहित पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्यायले स्थान पाएका छन् ।
महिला विश्वकपको ग्लोबल छनोट यही माघ २२ देखि फागुन ९ गतेसम्म मुलपानी मैदानमा आयोजना हुँदैछ । समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स छन् ।
समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी) नामिबिया र अमेरिका छन् ।
नेपालले जनवरी १८ (माघ ४ गते) मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । माघ ८ गते नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ । तेस्रो खेलमा नेपालले त्रिवि मैदानमा माघ १० गते खेल्नेछ भने समूहको अन्तिम खेलमा माघ १२ गते स्कटल्यान्डसँग त्रिवि मैदानमै प्रतिस्पर्धा गर्नेछ ।
दुवै समूहबाट शीर्ष तीन टोली क्वालिफायरमा छनोट हुनेछन् । क्वालिफायरमा दुवै समूहबाट छानिएका तीनवटै टोलीले अर्को समूहका सबै तीन टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।
क्वालिफायरका खेलहरू माघ १४, १६ र १८ गते हुनेछन् । क्वालिफायरबाट शीर्ष चार टोली सन् २०२६ जुन १२ देखि जुलाई ५ सम्म इङ्गल्यान्ड र वेल्समा हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकपलाई छानिनेछन् ।
ग्लोबल क्वालिफायर अघि प्रत्येक टिमले दुई/दुई अभ्यास खेल खेल्नेछन् । अभ्यास खेलमा नेपालले पुष ३० गते मुलपानीको तल्लो मैदानमा आयरल्यान्ड तथा त्यसको दुई दिनपछि त्रिवि मैदानमा अमेरिकासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्