जाडोका कारण जनकपुरधामका विद्यालय थप तीन दिन बन्द हुने
जनकपुरधाम । विगत दुई साता यता मधेश प्रदेशमा जाडोका कारण जनजीवन कष्टकर बनिरहेको छ ।
बिहीबार र शुक्रवार सामान्य रुपमा घाम लागे पनि शनिवार पुनः शीतलहर चल्न थालेपछि जनजीवन निक्कै प्रभावित बनेको हो । आज बिहानको तापक्रम ९ डिग्रीमा झरेको थियो भने अधिकतम तापक्रम १४ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
जाडोका कारणे बन्द गरिएका विद्यालय आजदेखि खोल्ने तयारीमा रहेको जनकपुरधाम उपमहानगरपालिका शनिबारदेखि पुनः शीतलहर शुरु भएपछि बिदा बढाएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाममा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा थप तीन दिन बिदा दिएको हो । पुस २० गते देखि २२ गतेसम्मका लागि विद्यालयको पठनपाठन नहुने जनाइएको छ ।
सङ्घको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सूचना जारी गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख अञ्जु पाण्डेले नगर क्षेत्रमा तीन दिन विद्यालयमा पठनपाठन नहुने जानकारी सहितको सूचना जारी गर्नुभएको छ ।
यस अघि तेस्रो पटक १७ देखि १९ गतेसम्म, दोस्रो पटक १३ गते देखि १६ गतेसम्म र पहिलो पटक ११ गते १ दिनका लागि उपमहानगरपालिकाले जाडो बिदा दिएको थियो ।
धनुषाका अतिरिक्त महोत्तरी, सर्लाही, सिरहा तथा सप्तरीका कतिपय पालिकाहरुले पनि विद्यालयमा जाडो बिदा दिएका छन् । केही संस्थागत विद्यालयहरूले भने पठनपाठनलाई निरन्तरता दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्