एमालेबाट रुपन्देही २ मा विष्णु पौडेल र ५ मा खिमलाल भट्टराईको एकल नाम सिफारिस
रुपन्देही । एमालेले रुपन्देही २ बाट पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल र रुपन्देही ५ बाट केन्द्रीय सदस्य खिमलाल भट्टराईलाई प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस गरेको छ।
एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले आइतबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले पार्टी उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस भएको बताउनुभयो । पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदवार रहनुभएको छ भने २०६४ देखि निरन्तर जित्दै आउनुभएको छ ।
पटक–पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल उम्मेदवारको रूपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको ढकालले बताउनुभयो । क्षेत्र नं. ५ बाट एकल सिफारिस हुनुभएका भट्टराई २०७९ को प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर सिफारिस हुनुभएको थियो । तर उहाँभन्दा पहिले नै वासुदेव घिमिरेको नाम सिफारिस भएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएपछि भट्टराई उम्मेदवार हुनबाटै वञ्चित हुनुभएको थियो । आइतबार भएको क्षेत्रीय बैठकबाट रुपन्देही ५ का लागि भट्टराईको नाम एकल सिफारिस भएको एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
रुपन्देही १ बाट केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित नेता दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने सिफारिस हुनुभएको एमाले जिल्ला सदस्य बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । त्यस्तै रुपन्देही ३ मा वासुदेव घिमिरेसहित १० जनाको नाम प्रस्ताव गरिएको छ । २०७९ को चुनावमा घिमिरे रुपन्देही–५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले केही दिनअघि सामाजिक सञ्जालबाट एमाले छाडेको घोषण गरेपछि एमाले पङ्क्ति तरङ्गित बनेको थियो । पछि निकटस्थहरूको जोडबलमा एमालेमै रहनुभएको छ ।
घिमिरे ०७४ मा रुपन्देहीको ३ मा पर्ने तिलोत्तमा नगरपालिकामा मेयर र २०७९ को चुनावमा तुलनात्मक रूपमा एमालेको कमजोर क्षेत्र मानिएको ५ मा गएर कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७ सय २ मतान्तरले पराजित गर्नुभएको थियो । घिमिरेसहित सिद्धार्थनगरका पूर्व मेयर हरि अधिकारी, अखिल नेपाल महिला संघ प्रदेश अध्यक्ष पम्पावती खनाल, एमालेका पुराना नेता राजेन्द्र पन्थी जिल्ला उपाध्यक्ष हितराज पन्थी, अनुप बरालसहित १० जनाको नाम प्रस्तावित भएको एमाले जिल्ला सदस्य उमा अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्