एमाले काँग्रेससँग गठबन्धन गरेर चुनावमा भाग लिन सक्छ : उपमहासचिव महासेठ
जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले नेकपा एमाले यही फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेससँग गठबन्धन गरेर भाग लिन सक्ने सम्भावना रहेको बताउनुभएको छ ।

जनकपुरधाम स्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अहिलेको परिवर्तनलाई संस्थागत गर्न काँग्रेस तथा नेकपा एमालेबीच चुनावी गठबन्धन हुनसक्ने कुरा नकार्न नसकिने महासेठले बताउनुभयो । उहाँले वर्तमान सरकारले चुनावका लागि वातावरण बनाउन नसकेको दाबी गर्दै पार्टी चुनावबाट पछि नहट्ने जनाउनुभयो ।
धनुषा निर्वाचन क्षेत्र नंं ४ का निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महासेठले पार्टीले विश्वास गरेको खण्डमा आफू सोही क्षेत्रबाट पुनः चुनावमा उठ्ने बताउनुभयो ।
एक प्रश्नको जवाफमा उपमहासचिव महासेठले मधेश प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन ठिक नभएको र मधेश प्रदेश प्रतिपक्ष विहीन बनेको दाबी गर्नुभयो ।
सोही पत्रकार सम्मेलनमा धनुषा निर्वाचन क्षेत्र नंं ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य जुली कुमारी महतोले आफू धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट नै उम्मेदवार बन्ने पक्षमा रहेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्