तपाईँ सुन्दै हुनुहुन्छः

अदालतविरुद्धको नियोजित प्रहार गम्भीर छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सामाजिक सञ्जालहरूमा अदालत र न्यायाधीशहरू विरुद्ध सुनियोजित रुपमा प्रहार गरी न्यायालयलाई कमजोर बनाउने षडयन्त्रप्रति अदालत गम्भीर रहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानन्यायाधीश राउतले मुलुकको अवस्था तरल र गम्भीर रहेको बेला न्यायालयमाथिको शृङ्खलाबद्ध र नियोजित प्रहारले न्यायमा गम्भीर असर पार्नसक्ने तर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले, अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत र न्यायाधीशमाथि सुनियोजित प्रहार छुट नहुने उल्लेख गर्दै अदालतको आलोचना र टिप्पणी गर्न पाइने तर त्यो स्वस्थकर र तथ्यमा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायालय र न्यायाधीशहरू खराब छन् भन्ने भाष्य निर्माण गर्न खोज्नुले संरचनामाथि नै प्रहार हुन गएको बताउनुभयो ।

उहाँले, सर्वोच्च अदालत न्यायिक स्वतन्त्रता र स्वच्छता कायम गर्न प्रतिबद्ध रहेको र मुलुकलाई अस्थिरता र जटिलताबाट लोकतन्त्र र सुशासनको बाटोमा अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

छलफलमा सम्पादकहरूले सामाजिक सञ्जाल र मूलधारको पत्रकारिता फरक भएकोतर्फ अदालतले ध्यान दिनुपर्ने, फैसलाहरू आम नागरिकले बुझ्न सक्ने हुनुपर्ने, समयमै न्याय सम्पादन हुनुपर्ने र गम्भीर प्रकृतिका फैसलाहरूबारे अदालतले समयमै सञ्चार माध्यमहरूलाई जानकारी गराउनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button