नेपाल विद्युत् प्राधिकरणको गौर वितरण केन्द्रद्वारा बक्यौता महसुल धमाधम असुली
रौतहट । नेपाल विद्युत् प्राधिकरणको गौर वितरण केन्द्रले बक्यौता महसुल असुली अभियानलाई तीव्र बनाउँदै पछिल्लो एक महिनामै एक करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गर्न सफल भएको छ । लामो समयदेखि थन्किँदै आएको बक्यौता उठाउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको वितरण केन्द्र गौरका प्रमुख धिरेन्द्र यादवले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत बक्यौता रहेका उपभोक्तालाई लिखित सूचना प्रदान गर्ने, नियमित अनुगमन गर्ने तथा तोकिएको समयभित्र रकम नबुझाए विद्युत् लाइन काटिने चेतावनी दिइएको उहाँले बताउनुभयो। साथै केही ठूला बक्यौतादार संस्था तथा उपभोक्तासँग किस्ताबन्दीमा रकम बुझाउने सहमति समेत भएको उहाँको भनाइ छ। यसले असुली प्रक्रियालाई थप प्रभावकारी बनाएको उहाँले उल्लेख गर्नुभयो ।
केन्द्रका अनुसार बक्यौता सङ्कलनमा वृद्धि भएसँगै ट्रान्सफर्मर मर्मत, विद्युत् लाइन विस्तार तथा अनियमित विद्युत् आपूर्ति सुधारका कार्यलाई गति दिन सहज हुने अपेक्षा गरिएको छ । अभियानप्रति स्थानीय उपभोक्ताहरूले समेत सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।
केन्द्र प्रमुख यादवले समयमै महसुल नतिर्ने उपभोक्तामाथि नियमअनुसार कडा कदम चालिने स्पष्ट पार्दै बक्यौता असुली अभियान निरन्तर जारी रहने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्