ऐतिहासिक पोरखेगढी आन्तरिक पर्यटकको मुख्य रोजाइ
बाजुरा । बाजुराको ऐतिहासिक पोरखेगढि आन्तरिक र बाह्य पर्यटकहरूको प्रमुख रोजाइको गन्तव्य बन्दै गएको छ। बडिमालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा अवस्थित यो गढी नेपालका ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने स्थान हरुमा पर्दछ। विशेष गरी हिउँदको समयमा यहाँ पर्यटकहरूको आगमन बढी हुने गरेको छ।
स्थानीय धनबहादुर रोकायाले हाल दैनिक पोरखेगढी घुमघाममा आन्तरिक र बाह्य पर्यटकहरूको आउने सङ्ख्या वृद्धि हुँदै गएको छ। बडिमालिका नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर-७का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार, हिउँदमा पोरखेगढि क्षेत्र भ्रमण गर्न दैनिक ५ सय भन्दा बढी पर्यटक आउने गरेका छन्।

पोरखेगढि क्षेत्र धार्मिक र ऐतिहासिक दृष्टिले समेत निकै महत्वपूर्ण मानिन्छ। यहाँ प्राचीन संरचनाहरू, बौद्ध स्तूप, हिउँले सजिएका पहाड र लालिगुरास सँगै रङ्गिन फुलहरू र मनमोहक प्राकृतिक दृश्यहरू छन्। यस क्षेत्रको ऐतिहासिक महत्व पनि विशेष रहेको छ, यो गढी प्राचीन समयमा सुरक्षा र प्रशासनका लागि बनाइएको स्थल थियो। पोरखेगढि पहाडको टाकुरामा अवस्थित भएकोले यसलाई रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिने गरिएको बुढिनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहराले बताउनुभयो । स्थानीय शासकहरूले नेपालका विभिन्न राज्यहरूको एकीकरणअघि र पछि यो गढी प्रयोग गरेका उहाँको भनाइ छ।
पोरखेगढिलाई संरक्षण र पर्यटन प्रवर्द्धनको माध्यमबाट स्थानीय अर्थतन्त्रलाई समृद्ध बनाउने उद्देश्यले बडिमालिका र बुढिनन्दा नगरपालिकाले कार्ययोजना अघि बढाएको जनाएको छ। यसको संरक्षण गरि पर्यटकीय विकास पूर्वाधार थप्न सके पर्यटनलाई प्रोत्साहित गर्न सकिने विश्वास गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्