बाजुराको कालाजाग्रा पर्यटकीय गन्तव्यको रुपमा स्थापित बन्दै
बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा वडा नम्बर-७ मा अवस्थित कालाजाग्रा हिमाली–प्राकृतिक स्थलले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तान्न थालेको छ। यस क्षेत्रमा गरिएको लगानी, आधारभूत पूर्वाधारको विकास र स्थानीय पर्यटन प्रवर्द्धनका पहलले कालाजाग्रालाई प्राकृतिक एवम् धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दैछ।

समुन्द्री सतहबाट करिब ३२सय मिटरको उचाइमा रहेको यस स्थलमा मन्दिर,चट्टानभित्रको अनौठो ताल, हिमाली दृश्यावलोकन, तथा ऐतिहासिक र धार्मिक महत्वका स्थानहरू रहेका छन्। यहाँबाट छिमेकी जिल्ला हुम्ला, मुगु, जुम्ला, कालिकोट, बझाङ लगायतका हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ। भने बाजुराको आधा भूगोल देख्न अवलोकन गर्न सकिने स्थानीय धनबहादुर रोकायाले बताउनुभयो ।
स्थानीय तह र प्रदेश सरकारको समन्वयमा मन्दिर निर्माण हुनुका साथै पैदलमार्ग निर्माणले आगन्तुकलाई दृश्यहरूको सहज अवलोकन र पहुँच बढाएको छ। कालाजाग्रामा पैदल मार्ग तथा केही आधारभूत संरचना निर्माण भएका भए पनि थप पर्यटन सुविधाहरूको विकास गर्न आवश्यक रहेको छ।

धार्मिक र सांस्कृतिक परम्परागत संस्कृतिको संरक्षणले यो स्थललाई धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ।
बडिमालिका नगरपालिका-७का वडा अध्यक्ष धर्मराज पाध्यायका अनुसार, कालाजाग्राको पर्यटन प्रवद्र्धन र व्यवस्थित विकास गर्न सके रोजगारी सृजना, आय वृद्धि र क्षेत्रीय अर्थतन्त्रलाई समेत मजबुत बनाउन मद्दत पुग्ने छ। अहिले कालाजाग्रा तेस्रो हिमाली पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गइरहेको छ र व्यापक प्रचार–प्रसारका प्रयासहरू पनि भइरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्