तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल पर्यटन बोर्डको २७ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै कानुन मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मन्त्री सिन्हाले नेपालको पर्यटनलाई विश्व स्तरमा पुर्‍याउनका लागि गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

नेपाल पर्यटन बोर्डको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री सिन्हाले विश्व परिवेश तीव्र रूपमा रूपान्तरित भइरहँदा नेपालले डिजिटल संलग्नता, गुणस्तरीय पर्यटन, दिगो अभ्यासहरू र उदयमान स्रोत बजारहरूलाई राष्ट्रिय प्राथमिकतासँग रणनीतिक रूपमा जोडेर अगाडि बढाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । उहाँले हालसम्म नेपालको पर्यटनलाई जीवन्त बनाउने सबैप्रति आभार प्रकट गर्दै साझेदारीका साथ अघि बढ्न पनि अनुरोध गर्नुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले यही बोर्डको अनुभव र सिकाइमा आधारमा मन्त्रीको भूमिका निर्वाह गर्न आइपुगेको उल्लेख गर्दै सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले अहिले आफू फरक भूमिकामा रहे पनि पछि पुनः पर्यटन क्षेत्रमै जोडिएर काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

उहाँलाई आजै नेपाल पर्यटन बोर्डले सम्मान गरेको थियो । सो क्रममा मन्त्री श्रेष्ठले पर्यटन भनेको आगमन सङ्ख्याको गणना मात्रै नभई विश्व स्तरमा नेपालको सम्बन्ध विकास हो भन्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटनलाई गुणात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको सहभागितामा लाभ सुनिश्चित हुने मोडलको पर्यटन विकास आजको आवश्यकता भएको बताउँदै सांस्कृतिक पर्यटनको विकास र प्रवर्द्धन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले सरकारले बोर्डलाई आवश्यक सहयोग नगरेको गुनासो गर्नुभयो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले गएको एक वर्षमा झन्डै ११ लाख ६० हजारको हाराहारीमा पर्यटक भित्रिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत बढी भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोर्डले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स(नाटा), होटल सङ्घ नेपाल (हान), नेपाल पर्वतारोहण सङ्घ, हिमालयन रेस्क्यू एसोसिएसन र प्यासफिक एसिया ट्राभल एसोसिएसनलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button