तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा वार्षिक ६ हजार सात सय केजी च्याउ उत्पादन

डडेल्धुरा । डडेल्धुरामा वार्षिक ६ हजार सात सय केजी च्याउ उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराले बुधबार प्रथम च्याउ दिवसको अवसरमा आयोजित अभिमुखीकरण गोष्ठीमा सो–बारे जानकारी गराएको हो । ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले ११ जना कृषकहरूले ४० वटा टनेल मार्फत व्यावसायिक रूपमा च्याउ उत्पादन गर्दै आएको बताउनु भयो । 

उहाँले जिल्लामा कन्ये, गोव्रे र सिताके च्याउ उत्पादन हुँदै आएको जानकारी दिनुभयो । च्याउ खेतीका लागि थोरै लगानी भएपनि मनग्ये आम्दानी गर्न सकिने कृषकहरूको भनाई छ । लामो समय देखि कृषि क्षेत्रमा रहेका अगुवा कृषक प्रसाद अवस्थीले गत वर्ष उत्पादन गरेको च्याउ धनगढी सम्म बिक्री गरेको तराईमा गर्मी बढ्दा पहाडबाट च्याउ तराई खपत हुने उहाँले बताउनु भयो ।

एक लाख लगानीमा सुरु गरिएको व्यवसायले डेढ देखि दुई लाख सम्म आम्दानी हुने अर्का कृषक हिरा भण्डारीले बताउनु भयो । तर अधिक उत्पादन हुँदा च्याउको बजारीकरणमा भने समस्या हुने कतिपय कृषकहरूको गुनासो छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जिल्लामा हाट बजार नहुँदा कृषकहरूको उत्पादनले बजारीकरणमा समस्या रहेकोमा उक्त कार्यलाई अगाडि बढाउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

सरकारले  १५ पुस देखि औपचारिक रूपमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा भएपनि ज्ञान केन्द्रले बुधबार कार्यक्रमको आयोजना गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button