तपाईँ सुन्दै हुनुहुन्छः

मलको खोजीमा किसान : बिहान तीन बजेदेखि लाइन, बेलुकासम्म निराशा

बाँके । उज्यालो नहुँदै बिहान चार बजे नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्रास्थित जिल्ला सहकारी संघ बाँकेको कार्यालय अगाडि करिब सय जना किसानको लाइन लागिसकेको थियो । जाडोले कठ्याङ्ग्रिएको शरीर, हातमा बोरा र मनमा एउटै आशा—आज त मल पाइएला ।

लाइनमा उभिनु भएका अलि अहमद खाँका लागि यो दृश्य नयाँ थिएन । विगतका वर्षहरूमा दिनभर लाइन बसेर पनि रित्तो हात फर्किनु परेको अनुभव उहाँसँग धेरै छ । त्यसैले यसपटक पनि उहाँको मन ढुक्क थिएन । तर, भाग्यले साथ दियो । एक बोरा युरिया मल पाएपछि उहाँको अनुहारमा खुसी छायो ।

‘धेरैपटक खाली हात फर्किएको छु,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘यसपटक जसोतसो एक बोरा पाइयो । अब खेतमा हाल्न पाइने भयो ।’

तर, सबै किसानका लागि यो बिहान आशाको किरण बनेन । नेपालगन्ज उपमहानगरपालिका–१७, परस्पुरका नरेश यादव बिहान पाँच बजेदेखि लाइनमा बस्नु भएको थियो । गहुँमा हाल्ने युरियाको ठिक समय भएकाले उहाँ तेस्रोपटक मल लिन आउनु भएको थियो । तर, पालो आउँदाआउँदै ‘मल सकियो’ भन्ने सूचनाले उहाँको सपना फेरि अधुरै रह्यो ।

‘दुईपटक पनि यस्तै भयो,’ उहाँले भन्नुभयो, ‘अहिले नपाएपछि पछि पाउनुको कुनै अर्थ हुँदैन ।’ डुडुवा गाउँपालिका–६, हिरमिनियाकी रिता मौर्यका लागि पनि मलको लाइन नयाँ अनुभव होइन । ‘मल थोरै आउँछ, किसान धेरै हुन्छन्,’ उहाँले भन्नुभयो, ‘अघिल्लोपटक त भिड धेरै भएर वितरणै रोकियो ।’

थोरै बोरा, धेरै किसान

जिल्ला सहकारी संघ बाँकेका प्रबन्धक नवराज उपाध्यायका अनुसार सोमबार मात्र २ सय ४० बोरा युरिया मल वितरण गरिएको थियो । तर, पाँच सयभन्दा बढी किसान मल लिन कार्यालय पुगेका थिए । ‘लाइनमा बसेका आधालाई मात्र मल दिन सक्यौँ,’ उहाँले भन्नुभयो ।यद्यपि, उहाँले बाँकेमा मलको वास्तविक अभाव नभएको दाबी गर्नुभयो । ‘धान सिजनमा मल पाइँदैन कि भनेर किसानले भण्डारण गर्ने प्रवृत्तिले अहिले अभावजस्तो देखिएको हो,’ उहाँको भनाइ छ ।

गोदाममा मल, खेतमा अभाव

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभरका सरकारी गोदाममा ८८ हजार टनभन्दा बढी रासायनिक मल मौज्दात छ । थप ५९ हजार टन मल आयातको प्रक्रियामा रहेको पनि मन्त्रालयको दाबी छ । तर, कागजमा प्रशस्त देखिने मल खेतमा हाल्ने बेला किसानले नपाउनु सरकारी दाबी र जमिनको यथार्थबीचको दूरीलाई उजागर गर्छ ।

डिजिटल प्रणाली, तर भौतिक संघर्ष

मल आपूर्ति र वितरण पारदर्शी बनाउन मन्त्रालयले ‘अनुदानको मल वितरण सूचना प्रणाली’ लागू गरेको छ । अनलाइनमार्फत मौज्दात हेर्न सकिने व्यवस्था भए पनि बिहान तीन–चार बजेदेखि लाइनमा बस्नुपर्ने किसानका लागि यो प्रणाली कागज र स्क्रिनमै सीमित देखिन्छ ।

बाँकेको यो जाडो बिहानले एउटा गहिरो यथार्थ बोकेको छ—सरकारी गोदाममा हजारौँ टन मल र किसानका हातमा एक बोरा मलका लागि घण्टौँको प्रतीक्षा । कसैका लागि त्यो बोरा आशाको बीउ बन्यो, कसैका लागि फेरि एकपटक निराशाको भारी । खेतमा हरियाली ल्याउने मल, अहिले किसानका लागि सबैभन्दा दुर्लभ भरोसा बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button