पोखरा सडक महोत्सवमा डुङ्गा दौड, खुलातर्फ हेमन्त राईको टोली प्रथम

पोखरा । रेवान पोखराको आयोजनामा जारी २७ औँ पोखरा सडक महोत्सव अन्तर्गत आज (मङ्गलवार) सम्पन्न डुङ्गा दौड (बोट रेस) प्रतियोगितामा खुलातर्फ हेमन्त राई सहितको विवश भण्डारी र अनिश परियारको टोली प्रथम हुनु भएको छ ।
खुला प्रतिस्पर्धामा सजेस कंसाजु, राज तामाङ र राजकुमार तामाङको टोली दोस्रो र कुमार जलारी, गणेश जलारी तथा कृष्ण जलारी समावेश टोली तेस्रो हुनु भएको थियो । संस्थागत विधा तर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ समावेश फेवा डुङ्गा व्यवसायी सङ्गठनको टोली प्रथम हुन सफल हुनु भयो । त्यसै गरी कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदी समावेश टान गण्डकीको टोली दोस्रो हुनु भएको छ । त्यस्तै विकास कडेल, रवि प्रसाद आचार्य र श्याम लामिछाने सम्मिलित नेपाल पर्यटन यातायात व्यवसायी सङ्घको टोली तेस्रो स्थान हासिल गर्नुभयो ।
प्रथम स्थान विजेताले खसी, दोस्रो हुनेले बोका तथा तेस्रो हुन सफल टोलीले भाले पुरस्कार प्राप्त गर्नुभयो । साथै महिलाको सहभागिता रहेको टेवान टोलीलाई विशेष पुरस्कार स्वरूप टोकला चियाको तर्फबाट नगद ५ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ । विजेताहरूलाई नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराई, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक वसन्त गौतम र खेलकुद संयोजक सुमन भट्टराई लगायतका अतिथिले एक समारोहका बीच पुरस्कार वितरण गर्नुभयो ।
यसैबीच, महोत्सवमा मङ्गलवार रस्साकसी प्रतियोगिता भएको पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले बताउनु भयो । तमु ल्होसार पर्वकै दिन महोत्सव परेकाले आज फेवाताल किनारमा दर्शकहरूको अत्यधिक भिड भएको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताउनु भयो । यति वेला पोखराका होटल अकुपेन्सि ८० प्रतिशत भन्दा बढी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्