तपाईँ सुन्दै हुनुहुन्छः

चिसोबाट जोगाउन मैदानमा उत्रियो नेपाली सेना

बाँके । पछिल्लो केही दिनदेखि लगातार बाक्लो हुस्सु र शीतलहरको प्रभावले बाँके जिल्लासहित तराईका भू–भागमा अत्यधिक चिसो बढेपछि सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । विशेषगरी बिहान र रातको समयमा तापक्रम अत्यन्तै घट्दा वृद्धवृद्धा, बालबालिका, दैनिक ज्यालादारी मजदुर तथा सडक आश्रित नागरिकहरू बढी प्रभावित भएका छन् ।

यही परिस्थितिलाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति हुन नदिन नेपाली सेनाले अग्रसरता लिँदै नेपालगञ्जका मुख्य बजार क्षेत्र तथा विपन्न बस्तीहरूमा दाउरा वितरण गरेको छ । नेपाली सेनाको बज्र दल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको कमान्डमा मङ्गलवार बिहानदेखि दाउरा वितरण कार्य सुरु गरेको हो ।

नेपालगञ्ज बजार क्षेत्रका मानिसहरूको बढी जमघट हुने फुल्टेक्रा चोक, कन्ठीपुर चोक, आलानगर चोकलगायतका स्थानमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराइएको छ । चिसोबाट जोगिन सर्वसाधारणले खुला ठाउँमा आगो ताप्न सकुन् भन्ने उद्देश्यले सेनाको टोली बिहानैदेखि सक्रिय रूपमा खटिएको थियो।

यसैगरी, खजुरा गाउँपालिकास्थित अति विपन्न मुस्लिम बस्तीमा समेत दाउरा वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा न्यानो व्यवस्थाको अभाव झेलिरहेका परिवारहरूलाई प्राथमिकतामा राख्दै सेनाले दाउरा वितरण गरेको बज्र दलका गणपति प्रमुख सेनानी रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बज्र दलले आफ्नै आन्तरिक स्रोत परिचालन गरी दाउरा वितरणको व्यवस्था मिलाएको हो ।

दाउरा वितरणसँगै नेपाली सेनाले शीतलहरबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ । सेनाको टोलीले गाउँ–गाउँमा पुगेर अत्यधिक चिसोका बेला अपनाउनुपर्ने सावधानी, न्यानो कपडाको प्रयोग, बालबालिका र वृद्ध वृद्धाको विशेष हेरचाह, आगो ताप्दा हुने सम्भावित जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी दिएको छ ।

प्रमुख सेनानी श्रेष्ठले चिसो मौसममा नागरिकको सुरक्षा र स्वास्थ्यप्रति सेनाले उच्च संवेदनशीलता देखाउँदै आएको उल्लेख गर्नुभयो । “शीतलहरका कारण कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हामीले दाउरा वितरण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ,” उहाँले भन्नुभयो ।

नेपाली सेनाको यस मानवीय पहलले शीतलहरूको चपेटामा परेका सर्वसाधारणलाई तत्काल राहत पुगेको स्थानीयवासीहरूले बताएका छन् । कठिन मौसमका बेला सेनाले देखाएको सक्रियता र सहयोगप्रति स्थानीय समुदायले प्रशंसा व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button