तपाईँ सुन्दै हुनुहुन्छः

“बालविवाह नियन्त्रणका लागि सामाजिक जनचेतना जरुरी”

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा बढेको बालविवाह नियन्त्रणका लागि सामाजिक जनचेतना र अभिभावक शिक्षालाई गाउँगाउँमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

oplus_0

लाईफ नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रको समन्वयमा “बालविवाह विरुद्धको स्वतः प्रहरी कारबाही” सम्बन्धि आज जनकपुरधाममा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरामा जोड दिनुभएको हो ।

मधेश प्रदेशका जिल्लाहरूमा बालविवाह ५२ प्रतिशतले रहेको छ भने धनुषा जिल्लामा मात्र ५८.५ प्रतिशत रहेको राष्ट्रिय हेल्थ सर्भेमा उल्लेख रहेको लाईफ नेपालका कार्यक्रम अधिकृत पूजा शर्माले जानकारी दिनुभयो । जबकि नेपाल भरिमा बालविवाहको अवस्था ४२ प्रतिशत रहेको सो तथ्याङ्कमा उल्लेख रहेको छ ।

पछिल्लो समयमा बालविवाह भन्दा ठूलो समस्याको रुपमा भागी विवाह भएको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी नायव निरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । विद्यालय तहबाट नै केटा र केटी मिलेर भाग्ने गरेको तर छोरी पट्टीका आमा बुबाले छोरी लापत्तासम्बन्धी १० देखि १२ वटा जाहेरी लिएर दैनिक रुपमा आउने गरेको जानकारी उहाँले दिनुभयो ।

बालविवाह गर्ने, गराउने सबैमाथि फौजदारी अभियोग अन्तर्गत कारबाही हुने कानूनी प्रावधान भएकाले प्रहरीलाई बालविवाहका विषयमा जानकारी प्राप्त भएपछि स्वतः कारबाहीमा जानका लागि कानूनले नरोकेको सहभागी अन्य प्रहरीहरूको भनाइ थियो । नेपालको कानून अनुसार विवाहका लागि केटीको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने उल्लेख रहेकाले त्यो भन्दा अगाडी विवाह गरेको भए नेपालको संविधान तथा अन्य कानून अनुसार कारवाहीको भागीदार बन्ने व्यवस्था रहेको मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका महिला तथा बालबालिका महाशाखाका प्रमुख निर्मला मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button