तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा महिला सशक्तीकरणका लागि मोटरसाइकल यात्रा

उदयपुर। महिला सशक्तीकरण, आत्मनिर्भरता र समान अधिकारको सन्देश फैलाउने उद्देश्यसहित उदयपुरका महिलाहरूले ५५ किलोमिटर मोटरसाइकल यात्रा  गर्नु भएको छ।

उदयपुर महिला बाइक राइडरको आयोजनामा भएको मोटरसाइकल यात्रा उदयपुर सदरमुकाम गाईघाटबाट सुरु भएर सुनसरी जिल्लाको सिमानामा पर्ने सप्तकोसी नदीको पुलमा पुगेर सम्पन्न गरिएको थियो । 

समाजमा महिलाहरू कमजोर मात्र होइनन्, उनीहरू पनि हरेक क्षेत्रमा सक्षम र नेतृत्वदायी हुन सक्छन् भन्ने सन्देश दिन यो यात्रा गरिएको उदयपुर महिला बाइक राइडर संयोजक रमा मगरले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रका महिलाहरूको उत्साहजनक सहभागितामा सम्पन्न यात्राले महिलामा आत्मविश्वास, साहस र एकताको भावना बढाएको यात्रामा सहभागी जानुका कार्कीले बताउनु भयो। यात्राका क्रममा महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानताका विषयमा जनचेतना फैलाउनुका साथै हेलमेट भित्र साहसी महिला, हामी पछि छैनौँ जस्ता सन्देश मूलक प्लेकार्ड सहित यात्रा गरिएको थियो। मोटरसाइकल यात्राका माध्यमबाट समाजमा महिलाले पनि केही गर्न सक्छिन् भन्ने सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूको भनाइ थियो।

यात्राका क्रममा चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार पुगेको महिला मोटर साइकल यात्रीहरूलाई खादा लगाएर सम्मान तथा शुभ यात्राको कामना गर्दै नगर प्रमुख कालुमान लामाले महिलाहरूले गर्ने यस्ता साहसिक कार्यक्रमले महिलाहरूलाई अझ अघि बढ्न प्रेरणा दिने र परम्परागत सोचमा  परिवर्तन गर्न सहयोग पुर्‍याउने बताउनु भयो । 

आयोजक उदयपुर महिला बाइक राइडरले भविष्यमा पनि महिला सशक्तीकरणलाई केन्द्रमा राखेर यस्ता रचनात्मक कार्यक्रमहरूलाई  निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button