लोकतन्त्रवादी पार्टी चुनावबाट पछि हट्दैन : अध्यक्ष यादव
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावका लागि पार्टीले तयारी शुरु गरेको बताउनुभएको छ ।

पार्टीको मधेश प्रदेश समितिले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको जनप्रदर्शन तथा विरोध सभामा बोल्दै उहाँले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक पार्टी चुनावबाट पछाडि जान नमिल्ने भन्दै आफ्नो पार्टी सदनदेखि सडकसम्म जनताको अधिकार स्थापित गराउनका लागि चुनावमा जाने तयारी गरेको बताउनुभयो ।
उहाँले जेन्जी पुस्ताले उठाएको कुशासनको अन्त्य तथा सुशासनको स्थापनाका लागि अहिले निर्वाचन तथा शासकीय प्रणालीबाट कठिन हुने बताउँदै मुलुकमा स्थिरता तथा सुशासनका लागि कार्यकारी राष्ट्रपतिको चुनावका लागि शासकीय प्रणालीमा सुधारका लागि संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।
जसपाका अध्यक्ष यादवले अहिलेको शासकीय प्रणालीमा सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्नका लागि संविधानको संशोधन जरुरी रहेको बताउनुभयो । उहाँले वर्तमान अवस्थामा प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेश अन्तर्गत प्रहरी र प्रशासन हुन जरुरी रहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका अध्यक्ष बालकिशोर प्रसाद यादवले मुलुकमा पछाडि मधेश, आदिवासी तथा जनजातिको अधिकार सुनिश्चित नभएसम्म पार्टीले निरन्तर खबरदारी गरिराख्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ, नेताहरू राजकिशोर यादव र प्रवक्ता मनिष सुमन लगायतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्