तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलवारदेखि तीन दिनसम्म बुटवलका सडकमा खाना महोत्सव हुने

रुपन्देही । मङ्गलवारदेखि बुटवलमा तीन दिने सडक खाना महोत्सव हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा हुने महोत्सव पुस १७ गतेसम्म चल्नेछ । 

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले नेपाली मौलिक कला संस्कृति, स्वाद र पहिचानको सम्मान, आन्तरिक पर्यटन प्रवर्द्धन, विकास र रोजगारी सृजना हाम्रो अभियान, सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले यस वर्ष महोत्सव स्थलमा फरकपन र नयाँ शैलीबाट स्टल निर्माण गरिएको र यसले सवारी आवागमनमा कुनै पनि असर नपर्ने बताउनुभयो । 

सडक खाना महोत्सवमा विभिन्न प्रकृतिका ५५ वटा स्टलहरू रहने अध्यक्ष खनालको भनाई छ । उहाँले विभिन्न जातजाति अन्तर्गत थारु जातिका २ वटा, नेवारी जातिका ७ वटा, मगर जातिका ४ वटा, क्लब तथा समूहका ४ वटा स्टलहरू रहने बताउनुभयो । महोत्सव व्यवस्थापनका लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको सुरक्षाका लागि सिसिटिभी एवं सेक्युरिटी कम्पनीबाट सुरक्षा व्यवस्थापन मिलाइएको आयोजकले जनाएको छ । 

तीन दिने कार्यक्रम अन्तर्गत १५ र १७ गते साँझ ६ बजेदेखि राती ११ बजेसम्म कार्यक्रम हुनेछ भने १६ गते साँझ ६ बजेदेखि १२ बजेसम्म कार्यक्रम हुनेछ । महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्नुका साथै डेढ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । अध्यक्ष खनालका अनुसार महोत्सवलाई सभ्य र भव्य बनाउने ३५ वटा विषयगत उपसमिति बनाइएको छ । महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा मङ्गलवार दिउँसो साढे ३ बजे नयाँ बसपार्कबाट विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्कने झाँकीसहितको र्‍याली निकालिने आयोजकले जनाएको छ । 

सङ्घले ०७५ सालदेखि सडक खाना महोत्सव गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button