‘पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने विषय आगामी सरकारले प्रथामिकतामा राख्नुपर्छ’
पोखरा । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने विषय आगामी आउने सरकारले प्रथामिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

पोखराको लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सुरु भएको २७ औँ पोखरा सडक महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले राज्यको ठुलो लगानीमा निर्माण भएको पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित बनाउने प्रयास संघीय तहबाट प्राथमिकतामा रहेको समेत उल्लेख गर्नुभयो । जेनजी आन्दोलनको जगमा निर्वाचन गराउने उद्देश्यले बनेको वर्तमान सरकारले धेरै ठुला कामहरू भन्दा पनि केही नीतिगत सुधार गर्दै जनतामा आशा र भरोसा दिँदै निर्वाचनमा केन्द्रित भएको उहाँले जनाउनुभयो ।
पोखरा क्षेत्रको पर्यटन सहितको आर्थिक विकासका लागि सरकारले विशेष प्राथमिकता दिँदै काम गरिरहेको उहाँले दाबी गर्नुभयो । मन्त्री घिसिङले पोखरा पर्यटनको प्राकृतिक हब भएकाले यससँग जोडिने सडक तथा हवाई दुवै पूर्वाधारलाई सुदृढ पार्नु राज्यको उत्तरदायित्व भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकार पर्यटन पूर्वाधार विस्तारमा जुटेको बताउँदै यस अभियानमा सङ्घीय सरकारले खासै सहयोग नगरेको गुनासो गर्नुभयो । पोखरा विमानस्थलमा सिधा अन्ताराष्ट्रिय हवाई उडान सञ्चालनको कूटनीतिक पहल गर्न उहाँले आग्रह गर्नुभयो । पोखरा सहित गण्डकी प्रदेशको लागि सधैँ दिगो हुने गरी पोखरामा अन्तर्राष्ट्रिय उडान गरी आफ्नो नाम दिगो पार्न मन्त्री बस्यालले आग्रह गर्नुभयो ।
पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न संघीय सरकारले चाहेमा अहिलेको स्वतन्त्र सरकारले सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीलाई जियो–पोलिटिक्स थाहा छैन, तर विमानस्थल चल्नुपर्छ, यो जनता र पोखराको माग हो, दल विनाको अहिलेको सरकारले चाहेमा यसलाई अघि बढाउन सक्छ । ”
‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नारा सहित सञ्चालन भएको महोत्सवमा लोपोन्मुख सांस्कृतिक झाँकी, लोकनृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार, लाइभ कन्सर्ट, डुङ्गा दौड, डोरी तान्ने प्रतियोगिता, वेटर रेस, सडक नाटक, फोटो बुथदेखि खाजा खाने प्रतियोगितासम्म दैनिक आकर्षण रहने कार्यक्रम संयोजक बसन्त गौतमले बताउनुभयो । उद्घाटन अघि पोखराको हल्लनचोकदेखि झाँकी सहितको र्याली निकालिएको थियो । जसमा गुरुङ, मगर, नेवार, थकाली, ब्राह्मण, क्षेत्री, थारु लगायतका समुदाय सहभागी हुनुभएको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्