विपन्न सदायको घर बनाउन नगर प्रहरी र सरसफाइकर्मी परिचालन

लहान । लहान नगरपालिकाले चिसो र शीतलहरूबाट प्रभावित एक घरविहीन विपन्न सदाय परिवारका लागि घर निर्माण गरी सहयोग गरेको छ ।
लहान नगरपालिका वडा नं. १५ का स्थायी बासिन्दा श्याम समुदाय विगत चार महिनादेखि बसोबास गर्ने घर नहुँदा त्रिपालमुनि जीवनयापन गर्दै आएका थिए । सो अवस्थाबारे स्थानीय युवा आनन्द चौधरी र वडा अध्यक्ष तेज नारायण चौधरीले लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीलाई जानकारी गराएपछि नगरपालिकाले तत्कालै नगर प्रहरी र सरसफाइ कर्मचारी परिचालन गरी घर निर्माण कार्य सुरु गरेका थिए ।
घर निर्माणमा स्थानीय युवा आनन्द चौधरीसहित समाजसेवी र स्थानीय बासिन्दाहरूले समेत सहयोग गरिरहेका छन् । नगरपालिकाले जस्तापाता, बाँस, काठलगायत आवश्यक निर्माण सामग्री तत्काल उपलब्ध गराएको जनाएको छ ।
यसैगरी, अत्यन्त कमजोर आर्थिक अवस्थाको सदाय परिवारलाई ओढ्ने फाइबर सिरक, तन्ना, ओछ्यान तथा खाद्यान्न सामग्री चामल, नुन, तेल, दाललगायत राहत सामग्री पनि नगरपालिकाले सहयोग गरेको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारको अनुभूति गराउने उद्देश्यले हामीले यो सहयोग गरेका हौँ ।”
४ धुर जग्गामा बसोबास गर्दै आएको सदाय परिवारमा २५ वर्षीय श्याम सदाय, उनकी श्रीमती विमला सदाय र तीन छोरी चान्दनी, नन्दनी र नन्दु रहेका छन् । बाबु–आमाको नागरिकता नहुँदा तीनै छोरीको जन्मदर्ता समेत हुन सकेको छैन, जसका कारण राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट परिवार वञ्चित हुँदै आएको छ ।
केही महिनाअघि मात्रै नगर प्रमुख महेश प्रसाद चौधरी र वडा अध्यक्ष तेज नारायण चौधरीको विशेष पहलमा विमला सदायका ससुरा पल्ट सदाय र सासु गंगिया सदायको नागरिकता बनेको थियो । अब श्याम सदाय र विमला सदायको पनि नागरिकता बनाइदिने प्रतिबद्धता नगर प्रमुखले व्यक्त गर्नुभएको छ ।
उक्त परिवार हाल लहान–१५ बानोस्थित खुट्टी खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएको छ । स्थानीय सरकारको सक्रियताले सदाय परिवारमा नयाँ आशा पलाएको स्थानीयहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्