सरकारको मुख्य काम चुनाव नै होः मन्त्री घिसिङ
कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले सरकारको मुख्य काम चुनाव नै रहेको बताउनु भएको छ ।
पोखराको फेवा किनारमा आज देखी सुरु भएको २७ औँ सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले आगामी फागुन २१ मा चुनाव नभए देश झन अस्थिरतातर्फ जाने बताउँदै सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा चुनाव सम्पन्न गर्नु रहेको बताउनुभयो ।

उहाँले चुनावमा सही प्रतिनिधिहरू चुन्न समेत सबैलाई आग्रह गर्नुभयो । देशमा सही नेतृत्वको आवश्यक रहेको बताउँदै उहाँले आगामी निर्वाचनमा सचेत भई सही प्रतिनिधि चयन गरी देशलाई आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
महोत्सवले पर्यटन क्षेत्रमा उत्साह थपिएको र सडक महोत्सवले नेपालको पर्यटकीय राजधानी धेरैकाे आकर्षणको केन्द्र भएकाे बताउनुभयो । पर्यटनको क्षेत्रमा पोखरा र यस आसपासका धेरै स्थानहरु पर्यटकीय गन्तव्य रहेकोले यसको प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार विकास गर्न महत्त्वपूर्ण रहेकाे मन्त्री घिसिङले बताउनुभयो । यस क्षेत्रकाे कनेक्टिभिटी राम्रो हुनुपर्ने बताउँदै उहाँले पोखरा मुग्लीन सडकको काम लगभग सकिएको जानकारी दिनुभयाे ।
“हामीले सडक निमार्णको काम राम्रो तरिकाले गरीरहेका छौँ ,ठेक्का लिएका ठेक्दारहरुसँग तीव्र रूपमा काम गर्न समेत दबाब दिइरहेको छौँ ।” पोखरा बुटवल सडक पनि सहजै रुपमा सञ्चालन गर्न सिद्ध बाबाको टनेलको कामको लागी विभिन्न चरणका अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
छिमेकी देश भारत र चिनसँगको सडक पहुँचलाई विस्तार गर्नु पर्नेमा जोड दिँदै उहाँले कोरोला नाकासम्मको बाँकी सडक पिचको काम पनि भइरहेको बताउनुभयो । विद्युतीय क्षेत्रमा पनि ठुलो काम भइरहेको बताउँदै उहाँले २२० केभीको लाइन समेत निर्माण भएको जानकारी दिनुभयो। पोखरा क्षेत्रमा २४ सै घण्टा विद्युत् आपूर्ति गर्न ठुलो सिस्टम निर्माण भएको र विद्युतलाई अन्डरग्राउन्ड गर्ने काम पनि अन्तिम चरणमा रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पोखरामा तार बिजुलीको पोल सडकबाट हटाउने काम भइरहेको र १ सय मिलियनको ग्रिन करिडोरको काम सञ्चालनमा रहेको बताउनुभयो । पर्यटकीय क्षेत्र पोखराबाट अन्य देशसँग हवाई सम्बन्धले पर्यटक धेरै बढ्ने सम्भावना रहेको बताउँदै उहाँले पोखरा विमानस्थल पुर्णरुपमा सञ्चालन गर्न सरकार लागी परेको बताउनुभयो ।

पोखरा पर्यटकीय हब रहेको बताउँदै मन्त्री घिसिङले यस सहरको सुन्दरतालाई जीवित राख्न सङ्घीय सरकारले विभिन्न योजनाहरूलाई अघि बढाइरहेको बताउनुभयो । पोखरा आसपासमा रहेका तालहरूको संरक्षणमा तिनै तहका सरकारको समन्वय आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्