तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको फेवाताल किनारमा सडक महोत्सव सुरु

कास्की । २७ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ पोखरामा सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइड  उत्सवमय बनेको छ  । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल रेबानको आयोजनामा  आइतबारदेखि सुरु  भएको २७ औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ १७ गतेसम्म चल्ने यो महोत्सवले फेवाताल किनारको साढे ३ किलोमिटर सडकलाई झिलिमिली पारेको छ ।

‘सडकमै खाऔं, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजना भएको यो महोत्सवको रौनक यसपालि अलि फरक देखिएको  रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले  जानकारी दिनुभयो । उहाँका अनुसार जेन–जी आन्दोलन र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई जुरुक्क उठाउन यो महोत्सवले एउटा नयाँ ऊर्जा दिनेछ । ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वभर पुर्‍याउनु नै महोत्सवको मुख्य लक्ष्य रहेको पौडेलले बताउनुभयो ।

महोत्सवमा एक्स–नेपथ्य’  ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरूसँगै डी–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्डमार्फत दर्शकलाई नचाउनेछन् । यस्तै काठमाडौँबाट विशेष प्रस्तुतिका लागि आस्मा विश्वकर्मा, स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्ड आउने आयोजकले जनाएको छ ।

महोत्सवका संयोजक वसन्त गौतमका अनुसार सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, र ‘रोधी’ को मौलिक प्रस्तुतिले महोत्सवलाई थप रमाइलो बनाउनेछ । खेलकुद प्रेमीका लागि ‘बोट रेस’, ‘वेटर रेस’ र ‘टग अफ वार’ जस्ता प्रतियोगिता पनि राखिएका छन् । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता र स्कुल ब्यान्डहरूको भिडन्त समेत हुने गौतमले जानकारी दिनुभयो ।

कोमागाने पार्कमा हुने महोत्सवमा मनोरञ्जन मात्र होइन, सचेतनामूलक सडक नाटक र पोखराको पर्यटनबारे ‘टक शो’ राखिएका छन् ।  पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग हात मिलाउँदै आयोजना गरिएको यो महोत्सवले लाखौँ पर्यटक भित्र्याउने र आर्थिक मन्दीलाई बिर्साउने आयोजकले अपेक्षा गरेको छ । पोखरा फेवाकिनारका ३ किलोमिटर सडक बेहुली सिगारीए झैँ सिगारीएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button