धजे–मनकामना–तेलपानी सडक सञ्चालनमा, रोङ गाउँपालिकाको विकासमा नयाँ आयाम
इलाम। इलामको रोङ गाउँपालिका–६ स्थित धजे–मनकामना–तेलपानी सडक सञ्चालनमा आएको छ।
सडक उद्घाटनसँगै स्थानीय बासिन्दा उत्साहित भएका छन् भने पर्यटन, कृषि र व्यापार प्रवर्द्धनमा नयाँ सम्भावना खुलेको छ।

विघटित प्रतिनिधिसभा सांसद सुहाङ नेम्बाङले एक कार्यक्रमबिच आज सडकको उद्घाटन गर्नुभएको हो। उहाँले इलामको विकासका लागि पूर्वाधार र संस्कृतिलाई सँगै अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
सडक सञ्चालनमा आएपछि रम्भ्याङ, जौबारी, जिर्मले र कुवापानी क्षेत्रका किसानलाई कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज भएको छ। साथै शिक्षा, स्वास्थ्य र व्यापारका लागि झापाको धुलाबारी, बिर्तामोड र चन्द्रगढी पुग्न यात्रा छोटिएको छ।
स्थानीयका अनुसार धजेबाट वडा कार्यालय पाँच मिनेटमै पुग्न सकिने भएको छ। धजे–धुलाबारी दूरी करिब ३० किलोमिटर र धजे–बिर्तामोड करिब ४० किलोमिटर मात्र रहेकाले खाद्यान्न ढुवानी र पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ।

सडक निर्माणका लागि सङ्घीय सरकार र प्रदेश सरकारबाट विभिन्न आर्थिक वर्षमा गरी करिब ६ करोडभन्दा बढी लगानी भएको छ। हाल सडकको केही भाग ग्राभेल गरिएको छ भने नाली, ह्युम पाइप र नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ।
स्थानीयले सडकलाई पूर्ण रूपमा स्तर उन्नति गर्दै कालोपत्रे गर्न माग गरेका छन्। यो सडक रोङ गाउँपालिकाको दिगो विकास र आर्थिक समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्