पर्सामा निर्वाचनको तयारी तीव्र, दलहरू समेत निर्वाचन केन्द्रित कार्यक्रममा जुट्दै
वीरगञ्ज । पर्सामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ ।
निर्वाचन कार्यालय तथा सबै सुरक्षा निकायले निर्वाचनको लागि आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएका छन् ।
निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान स्थल मतदान केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको सम्पूर्ण तयारी गरेको छ ।
त्यस्तै राजनीतिक दलहरूले समेत पर्सामा निर्वाचन केन्द्रित कार्यक्रमहरू चलाइरहेका छन् । दलहरू गाउँ गाउँमा पुगेर निर्वाचन केन्द्रित पार्टी प्रवेश, अन्तरक्रिया, कोणसभा, छलफलमा व्यस्त रहेका छन् ।
पर्सामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, रास्वपा, जसपा, लोसपा लगायतका दलहरूले प्रतिनिधिसभाका उम्मेदवारहरूको नामावली केन्द्रमा सिफारिस गर्ने कार्य समेत सम्पन्न गरेका छन् ।
एक महानगरपालिका। ३ नगरपालिका र १० गाउँपालिका गरी १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिले मतदान स्थल र केन्द्रको निरीक्षण अनुगमनलाई समेत तीव्रता दिएको छ । उक्त अनुगमन टोलीले गाउँ गाउँ पुगेर सुरक्षा व्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँ ठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
मतदान स्थलको अवस्था कस्तो छ?, सुरक्षा व्यवस्थापन, मतपेटिकाको ढुवानी कसरी गर्ने?, सम्बन्धित स्थानमा मतपत्र कसरी पुर्याउने? भनेर स्थलगत अनुगमनलाई तीव्रता दिइरहेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट र नेपाली सेनासहितको सुरक्षा संयन्त्रको टोली मतदान स्थलको अवस्था बुझ्न गाउँ गाउँ पुगेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठकले सुरक्षा संयन्त्र भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षा व्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भीड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको बताउनुभयो ।
उहाँले तोकिएका मतदान केन्द्रहरूमा सुरक्षाकर्मी, प्रहरीको मोबाइल र रिजर्व टोली परिचालन, क्वीक रेस्पोन्स टोलीसहित कहाँ कति सुरक्षाकर्मी खटाउने भनेर अध्ययन समेत गरिसकिएको बताउनुभयो ।
यस्तै, प्रहरी उपरीक्षक पाठकले प्रभावकारी सुरक्षा व्यवस्थापन, सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको समेत अध्ययन गरिसकिएको जानकारी दिनुभयो ।
४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६७ मतदान स्थलमा ४ सय ७३ मतदान केन्द्र स्थापना गरिने तय गरिएको छ ।
मतदान स्थलको टुङ्गो लागे पनि मतदान केन्द्रको सङ्ख्यामा अझै थपघट हुनसक्ने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय पर्साले अहिले मतदाता नामावली अद्यावधिक, दाबी विरोधको काम गरिरहेको छ । यस्तै एउटै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिने, मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको जनाइएको छ ।
आयोगले निर्वाचन तयारी तीव्र गतिमा अगाडी बढाइरहेको बेला गाउँघर सहर बजारमा पनि राजनीतिक दलका निर्वाचन लक्षित गतिविधिले तीव्रता पाएको छ । दलगत भेला र उम्मेदवारको चर्चा परिचर्चा गाउँ गाउँमा भइरहेको छ । निर्वाचनका लागि प्रशासनिक तयारीसँगै दलहरूले पनि आ–आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।
नेपाली काँग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले निर्वाचनका लागि पार्टीले आफ्नो तरिकाले तयारी गरिरहेको र पर्साका ४ वटै निर्वाचन क्षेत्रमा काँग्रेसले चुनाव केन्द्रित कार्यक्रमलाई समेत अगाडी बढाएको बताउनुभयो ।
त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले निर्वाचन केन्द्रित गतिविधि गाउँ गाउँमा चलाइरहेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्