यो निर्वाचन जसरी पनि सफल पारौ, मेरो बिन्ती छ : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जसरी पनि निर्वाचन सफल पार्न प्रमुख दलका शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो–‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ। प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु।’

त्यस क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको जानकारी गराउनुहुँदै राष्ट्रको भविष्य, स्थिरता र लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल गराउन शीर्ष नेताहरु समक्ष अनुरोध गर्नुभयो ।









प्रतिक्रिया राख्नुहोस्