कृषि ज्ञान केन्द्र बाजुराद्वारा स्याउ र ओखर बगैँचा सुदृढीकरण अभियान
बाजुरा। कृषि ज्ञान केन्द्र बाजुराले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत जिल्लाभरका व्यावसायिक स्याउ र ओखर कृषकहरूका बगैँचामा काँटछाँट तथा पेस्ट लगाउने तरिकाबारे जानकारी तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिँदै आएको छ । कृषि ज्ञान केन्द्र बाजुराले यो कार्यक्रमलाई जिल्लाभर अभियानको रूपमा सञ्चालन गरेको जनाएको छ । अभियान अन्तर्गत कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक र कृषकहरूको संयुक्त उपस्थितिमा बगैँचामा प्रत्यक्ष रूपमा काँटछाँट तथा पेस्ट प्रयोग गरिँदै सो सम्बन्धी आवश्यक ज्ञान कृषकहरूलाई दिइएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार, स्याउ र ओखर खेतीको उत्पादकत्व वृद्धि, रोग–कीरा नियन्त्रण तथा बगैँचाको दीर्घकालीन सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उहाँका अनुसार “जिल्लाभर यो कार्यक्रम ३० दिनसम्म निरन्तर सञ्चालन गरिनेछ । प्राविधिक टोली स्वयं कृषकको बारीमा पुगेर व्यवहारिक ज्ञान दिइरहेका छन् ।”

बारीमै उक्त ज्ञान लिन पाउँदा कृषकहरू उत्साहित भएका छन् । बुढिनन्दा गाउँपालिकाका कृषक प्रेम गुरुङले प्राविधिकसहितको टोली आफैँ बारीमै आएर स्याउ र ओखर खेतीको उत्पादन बढाउने उपाय, उचित काँटछाँट र पेस्ट लगाउने तरिका सिकाउँदा आफूहरू निकै खुसी भएको बताउनुभयो । “पहिले जानकारीको अभावमा बगैँचा राम्रोसँग व्यवस्थापन गर्न सकिरहेका थिएनौँ, अब धेरै कुरा बुझ्न पाइयो,” उहाँले भन्नुभयो । यस्तै अर्का कृषक नन्दलाल शार्कीले यस्ता कार्यक्रमले व्यावसायिक रूपमा स्याउ र ओखर खेतीतर्फ आकर्षण बढाएको बताउनुभयो । उहाँका अनुसार, “यस किसिमका व्यवहारिक तालिम र प्राविधिक सहयोगले नयाँ कृषकलाई पनि व्यावसायिक स्याउ र ओखर खेतीमा लाग्न प्रोत्साहन मिलेको छ ।” यस अभियानले बाजुरामा व्यावसायिक स्याउ र ओखर उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्