तपाईँ सुन्दै हुनुहुन्छः

करोडौँको लगानी छैन सुद्ध पिउने पानी 

उदयपुर I विकासका नाममा सडक, भवन र ठूला आयोजनामा करोडौँको लगानी भइरहेको छ। 

तर यति धेरै खर्च हुँदाहुँदै पनि आम नागरिकका लागि सबैभन्दा आधारभूत आवश्यक “शुद्ध पिउने पानी“ अझै सहज रूपमा उपलब्ध छैन । 

उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियामा राज्यले करोडौँको लगानी गरेर खानेपानी निर्माण गरेको भएपनि उक्त आयोजनाले शुद्ध पिउने पानी उपलब्ध गराउन नसक्दा उपभोक्ताले उक्त आयोजनाको पिउने पानी प्रयोग गर्न पाएका छैनन् । साबिकको हडिया गा.वि.स. वडा नम्बर ५ र ६ का उपभोक्ताको लागी भनेर करोडौँको लगानीमा मूलखोला खानेपानी तथा सरसफाई आयोजना मार्फत झन्डै ३ सय उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउने गरि स्थानीय मुसहर्नियाँ (मूलखोला) खोलाको सिरान चुरेको फेदीबाट समर्सियल बोर्डिङ द्वारा करिब एक लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरि उक्त ट्याङ्की मार्फत उपभोक्ताको लागि पानी वितरण गरिएको भएपनि पानी शुद्ध नहुँदा स्थानीयले प्रयोग गरेका छैनन् ।

पछिल्लो समय शहरदेखि गाउँसम्म धेरै मानिस दूषित पानी पिउन बाध्य छन्, जसले उनीहरूको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याइरहेको छ। शुद्ध पिउने पानीको अभावले अहिले पनि धेरै ठाउँहरूमा झाडापखाला, टाइफाइडजस्ता रोग फैलिने गरेको पाइन्छ । तर राज्यले  करोडौँ लगानी गरेको खानेपानी आयोजना यसरी लथालिङ्ग हुँदा समेत राज्यको ध्यान पुगेको छैन । 

मुलाखोला खानेपानी तथा सरसफाई आयोजना तत्कालीन हडिया गा.वि.स. हुँदै गर्दा २०७३ सालमै डीपीआर तयार गरि निर्माण गरिएको आयोजना हो । तत्कालीन हडिया गा.वि.स. को वडा नम्बर ५ र ६ का करिब ३ सय घरधुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने गरी आयोजना सुरु गरिएको हो तर यो आयोजनाले अहिले उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन नसक्दा ३०/३५ घरधुरीले मात्र धारा जडान गरेको आयोजनाका अध्यक्ष भुपाल कार्कीले जानकारी दिनु भयो । ३०/३५ घरमा धारा जडान गरेका उपभोक्ताले समेत उक्त पानी गाईबस्तु र फलफूलमा लगाउनका लागि मात्र प्रयोग गर्ने गरेका छन् ।

मुलाखोला खानेपानी तथा सरसफाई आयोजनामा काम गरिरहेका तत्कालीन खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खोटाङका डिभिजन इन्जिनियर सुमन भट्टराईले मुलाखोला खानेपानी आयोजनामा तत्काल प्रेसर फिल्टर जडान गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । इन्जिनियर भट्टराईका अनुसार उक्त प्रेसर फिल्टर जडानका  लागि करिब ४० लाख लागत लाग्ने छ ।

मुलाखोला खानेपानी तथा सरसफाई आयोजनाले झन्डै ३ सय उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउने गरि आयोजना सुरु गरेको भएपनि राज्यले करोडौँ लगानी गरेको आयोजना अहिले प्रयोग विहीन भएको छ । उता प्रयोग विहीन जस्तै अवस्थामा रहेको मुलाखोला खानेपानी तथा सरसफाई आयोजनामा अहिले ३०/३५ उपभोक्ताले धारा जडान गरेका छन् । तर उनीहरूले १० हजार लिटर बराबरको न्यूनतम प्रतिमहिना शुल्क रु २ सय रुपैयाँ समितिलाई बुझाउँदै आएका छन् । उनीहरूले नत शुद्ध पानी प्रयोग गर्न पाएका छन् नत न्यूनतम शुल्कमा कुनै सहजता पाएका छन् । मुलाखोला खानेपानी तथा सरसफाई आयोजनाको पानीमा शतप्रतिशत आइरन पाइएको छ भने कहिलेकाहीँ लेदो पानी आउने गरेको स्थानीय उपभोक्ता सुमन खड्काको भनाइ छ ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर १० मा रहेको हडिया खानेपानी उपभोक्ता समितिको कथा पनि खासै फरक छैन । २०७३ साल देखी सञ्चालनमा आएको हडिया खानेपानी उपभोक्ता समितिले तत्कालीन हडिया गा.वि.स. को वडा नम्बर ५, ६ र ७ का हजारौँ उपभोक्ताका लागि शुद्ध पिउने पानी उपलब्ध गराउने लक्ष सहित निर्माण गरिएको आयोजना हो । तर आयोजना सञ्चालनकै अवस्थामा २०७३ सालमा गठित सञ्चालक समिति अहिले सम्म हेरफेर भएको छैन नत समितिले आयव्यय सार्वजनिक गर्ने गरेको छ नत आयोजनाको रेखदेख नै गरेको छ । तत्कालीन समयमा गठित समिति निष्क्रिय जस्तै छ । एकजना कर्मचारीले पुरै आयोजनाको हेरचाह गर्ने गर्नु भएको छ यद्यपि उहाँको पारिश्रमिक समेत न्युन हुँदा उहाँले काम नगर्ने मनस्थिति बनाउनु भएको छ । यसले आयोजनालाई अप्ठ्यारो पर्ने देखिन्छ  ।

दुवै आयोजना सञ्चालन समितिका अध्यक्षले भने राज्यले कुनै पनि लगानी नगर्दा आयोजना सञ्चालनमा कठिनाइ भएको बताउँछन् । दुवै आयोजनाका अध्यक्षको एक स्वर छ । राज्यले खानेपानीको ट्याङ्की निर्माण गरेर केही पाइप दिँदैमा आयोजना सफल नहुने भन्दै उनीहरूले बेलाबेला त्यहाँका समस्या र समस्या समाधानका लागि राज्यले रकम विनियोजन गर्नु पर्ने माग राखे ।

राज्यले यसरी करोडौँ रकम खर्च गरेर सञ्चालनमा ल्याएका आयोजनाहरू समय समयमा हेरचाह र रेखदेख नहुँदा राज्यको लगानी बालुवामा पानी हुन थालेको छ ।

वास्तविक विकास भनेको महँगा संरचना मात्र होइन, नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्नु पनि हो । त्यसैले करोडौँको लगानी खोज्नु भन्दा पनि सही योजना, जनसहभागिता र सचेतनाबाट शुद्ध पिउने पानीको व्यवस्था गर्नु आजको आवश्यकता हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button