तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । 

आज बुढानीलकण्ठमा आयोजित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान समयको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारीसँग जोडिनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रले सरकारसँग सहकार्य पनि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उपराष्ट्रपति यादवले जेनजी युवाहरूको आन्दोलनले मुलुकलाई नयाँ सोच, मार्ग र दिशा प्रदान गरेको उल्लेख गर्दै सो आन्दोलनले शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउने प्रेरणा दिएको बताउनुभयो । शिक्षण–सिकाइ प्रक्रिया केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

उपराष्ट्रपतिले निजी शिक्षालयहरूले शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै स्थानीय संस्कृति, मूल्य–मान्यता र पहिचानलाई सम्मान गर्ने पाठ्यक्रम विकासमा हिसानलगायतका संस्थाले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । 

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले गुणस्तरीय, समावेशी र सीपयुक्त शिक्षाको प्रवर्द्धनमा निजी क्षेत्रका संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा पूर्व मन्त्री एवं हिसानका निर्देशन समिति संयोजक उमेश श्रेष्ठलगायत विभिन्न शिक्षा क्षेत्रका विज्ञ, निजी शिक्षालयका सञ्चालक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा हिसानको योगदानको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button