मधेस प्रदेशका मागप्रति सङ्घ सरकार सकारात्मक : अर्थमन्त्री खनाल

जनकपुरधाम । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित विभिन्न मन्त्री तथा नेताहरूसँग भेटघाट गर्नुभएको छ ।
मधेस भवनमा आयोजना भएको भेटघाटका क्रममा मधेस प्रदेशका मुख्यमन्त्री यादव तथा अर्थमन्त्री महेशप्रसाद यादवले अर्थमन्त्री खनालसँग मधेस प्रदेशलाई सङ्घीय सरकारले दिँदै आएको विभिन्न प्रकारको अनुदान रकम बढाउनका लागि माग गर्नुभयो ।
मधेस प्रदेश सरकारले अर्थमन्त्री खनाललाई मधेस प्रदेशको मानव सूचकाङ्क कमजोर रहेकाले सोही आधारमा अनुदान रकम बढाउन माग गरेको छ ।
साथै सो अवसरमा प्रदेश सरकारले राजश्व कार्यालयहरूलाई यथावत् रूपमा राख्नुपर्ने र मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबिबिएसको कार्यक्रममा सङ्घ सरकारले दिनुपर्ने आर्थिक अनुदान नदिएको विषयमा अर्थमन्त्री खनाललाई ध्यानाकर्षण गराएको मधेस प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिनुभयो ।
एमबिबिएस कार्यक्रम सञ्चालनमा वर्षेनी रूपमा २० करोड रकम प्रदेश सरकारको खर्च हुँदै आएको छ ।
मधेस प्रदेश सरकारको आन्तरिक श्रोतलाई बढाउनका लागि सङ्घले उठाउँदै आएको राजश्वका कतिपय क्षेत्रमा प्रदेश सरकारलाई स्वायत्तता दिनुपर्ने माग पनि अर्थमन्त्री खनालसमक्ष राखिएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति सङ्घ सरकार सकारात्मक भएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारबाट विभिन्न विषयहरूमा भएको मागप्रति सङ्घ सरकार सकारात्मक भएको र यसको सम्बोधनको प्रयास गरिने बताउनुभयो ।
सो अवसरमामा मधेस प्रदेश सरकारका निमित्त प्रमुख सचिव रामकुमार महतो, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह, नेता युवराज भट्टराईसहितका नेताहरूको उपस्थित रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्