तमु ल्होसार पर्व भव्य रूपमा मनाउँदै गुरुङ समुदाय

चितवन । तमू ल्होसार पर्वको तयारी तीव्र पारिएको छ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु सङ्घ चितवनको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको अधिकांश तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।
यस पटक दुवै संस्थाले विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको नौविघा (डिग्री भवन) परिसरमा एकै ठाउँमा संयुक्त रूपमा ल्होसार पर्व मनाउने भएका छन् ।
तीन दिनसम्म चल्ने कार्यक्रम पुस १३ गते बिहान महाबौद्ध गुम्बा तीनखोलेबाट सुरु हुने शोभायात्रासँगै औपचारिक रूपमा प्रारम्भ हुनेछ ।
तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष बुद्धिमान गुरुङका अनुसार यस वर्ष ल्होसारलाई खुला चौरमा व्यवस्थित र भव्य रूपमा मनाउने योजना बनाइएको छ ।
चितवनमा गुरुङ समुदायको बाक्लो उपस्थितिलाई उजागर गर्ने उद्देश्यले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । “विगतमा दुवै संस्थाले आ–आफ्नै रूपमा कार्यक्रम गर्दै आएका थियौँ, तर यस पटक पहिलो पटक संयुक्त मञ्चबाट कार्यक्रम गर्न लागेका हौँ,” उहाँले भन्नुभयो ।
तमू प्ये ल्हु सङ्घ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार संयुक्त रूपमा एकै स्थानमा पर्व मनाउने योजनाले जिल्लाका गुरुङ समुदायमा थप उत्साह र हौसला थपेको छ । पुस १३ देखि १५ गतेसम्म तीन दिन विशेष उत्सवकै रूपमा ल्होसार मनाइने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेर राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । पुस १३ र १५ गते दिनभर कार्यक्रम सञ्चालन हुनेछ भने १४ गते रात्रिकालीन कार्यक्रम पनि राखिएको छ । “पुस १४ गते राति १२ बजेसम्म पुरानो दिन र त्यसपछि नयाँ दिनको स्वागत गर्ने हाम्रो परम्परा हो,” उहाँले भन्नुभयो ।
कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरणका कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ । साथै गुरुङ जातिको खाना, खाजासहित संस्कृति, पहिचान र परम्परासँग सम्बन्धित विषयवस्तु झल्कने प्रदर्शनी कक्षहरू पनि राखिनेछन् । आफ्नो उत्पादन तथा व्यवसाय प्रवर्द्धन गर्न चाहनेहरूका लागि प्रदर्शनी कक्ष दर्ता प्रक्रिया जारी रहेको जनाइएको छ ।
मुख्य आयोजक तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु सङ्घ भए पनि तमूस्यो ह्युल छोँज धीँ गुरुङ महिला राष्ट्रिय परिषद् चितवन, तमू प्ये ल्हु सङ्घ महिला समिति, युवा समिति, तमू (गुरुङ) विद्यार्थी छोँज धीँलगायत भ्रातृ सङ्घसंस्थाहरूले सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
यस वर्ष सर्प वर्ग (सप्रि ल्हो)को बिदाइ गर्दै घोडा वर्ग (त ल्हो)को स्वागतका साथ तमू ल्होसार मनाइने तयारी गरिएको हो ।
प्रत्येक वर्ष पुस १५ गते ल्हो अर्थात् वर्ग परिवर्तन हुने परम्परा रहेको छ, जहाँ १२ वर्षमा एक चक्र पूरा हुन्छ ।






प्रतिक्रिया राख्नुहोस्