तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज भन्सारबाट चालु आवको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात

बाँके । नेपालगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो पाँच महिनामा ३० अर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ । 

नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामग्री आयात भएको हो ।

गत आर्थिक वर्ष २०८१÷०८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको थियो । यसअनुसार चालु आवको पाँच महिनामा आयातमा सामान्य वृद्धि देखिएको भन्सार कार्यालयले जनाएको छ ।

यसै अवधिमा नेपालगञ्ज भन्सार कार्यालयबाट एक अर्ब १ करोड ६३ लाख ८९ हजार रुपैयाँ बराबरको मालसामान निर्यात भएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८८ करोड ६८ लाख ८२ हजार रुपैयाँ बराबरको मालसामान निर्यात भएको थियो । निर्यातमा समेत केही सुधार देखिए पनि आयातको तुलनामा निर्यात अझै न्यून नै रहेको तथ्याङ्कले देखाएको छ ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालगञ्ज भन्सारबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवको सोही अवधिमा २९ अर्ब ९७ करोड १४ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यसले समग्र कारोबारमा उल्लेख्य वृद्धि भएको सङ्केत गर्दछ ।

यद्यपि, व्यापार घाटाको अवस्था भने अघिल्लो वर्ष र चालु वर्षको पाँच महिनामा झन्डै उस्तै देखिएको छ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ९७ प्रतिशत रहेको व्यापार घाटा चालु आवको सोही अवधिमा ९६.६८ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ । आयातको तुलनामा निर्यात कमजोर रहँदा व्यापार घाटा उच्च नै कायम रहेको सरोकारवालाहरूको भनाइ छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । यो मङ्सिर महिनासम्मको लक्ष्यको ८३.४५ प्रतिशत मात्र हो । चालु आर्थिक वर्षको कुनै पनि महिनामा भन्सार कार्यालयले निर्धारित मासिक राजस्व लक्ष्य हासिल गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१–८२ को साउन महिनामा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा भने क्रमशः साउनमा ७४.१४ प्रतिशत, भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कात्तिकमा ७२.३० प्रतिशत र मङ्सिरमा ८३.४५ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ ।

समग्रमा आयात, निर्यात र कारोबारमा वृद्धि देखिए पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन र व्यापार घाटा न्यूनीकरण अझै चुनौतीपूर्ण रहेको नेपालगञ्ज भन्सार कार्यालयका अधिकारीहरूको भनाइ छ ।  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button