तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट पाँच महिनामा ३० अर्बभन्दा बढी आयात

बाँके। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालगन्ज नाका हुँदै ३० अर्ब रुपैयाँभन्दा बढीको मालसामान आयात भएको छ। नेपालगन्ज भन्सार कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको हो।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार रुपैयाँको आयात भएको थियो। यस आधारमा चालु आवमा आयातमा वृद्धि देखिएको छ।

यस अवधिमा निर्यात भने सीमित रहेको छ। चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट १ अर्ब १ करोड ६३ लाख ८९ हजार रुपैयाँ बराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा निर्यात रकम ८८ करोड ६८ लाख ८२ हजार रुपैयाँ थियो।

आयात–निर्यात जोड्दा चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट कुल ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो आवको यही अवधिमा कारोबार रकम २९ अर्ब ९७ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको थियो।

आयातको तुलनामा निर्यात न्यून हुँदा व्यापारघाटा उस्तै रहेको छ। अघिल्लो आवमा ९७ प्रतिशत रहेको व्यापारघाटा चालु आवमा ९६.६८ प्रतिशत कायम छ।

यता, चालु आवको पाँच महिनामा भन्सार कार्यालयले ७ अर्ब ६५ करोड १९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ८३.४५ प्रतिशत मात्र हो। चालु आर्थिक वर्षमा हालसम्म कुनै पनि महिनामा तोकिएको मासिक राजस्व लक्ष्य पूरा हुन सकेको छैन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button