दूधका उत्पादन निर्यात गर्न अन्तर्राष्ट्रिय डेरी एक्स्पो

चितवन । चितवनमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुने भएको छ । दूधको उत्पादन निर्यात तथा विविधीकरणमा टेवा पुग्ने उद्देश्यसहित डेरी एक्स्पो गर्न लागिएको हो ।
चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको संयुक्त आयोजनामा आउँदो माघ २५ गतेदेखि २९ गतेसम्म डेरी एक्स्पो हुन लागेको आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । ‘प्रविधिमा डेरी अर्थतन्त्रमा समृद्धि’ भन्ने मुल नाराका साथ चितवनको प्रदर्शनी केन्द्रमा कार्यक्रम हुने आयोजकले जनाएको छ ।
दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानलाई प्रोत्साहन गर्नुको साथै औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि मेशिन, उपकरणको अवलोकनका लागि अवसर प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । ‘यो एक्स्पोले दुग्धजन्य उत्पादनका नवीनतम प्रविधि भित्र्याउँदै निर्यात प्रवर्द्धनमा टेवा पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।’ बगालेले भन्नुभयो।
पाँच दिनसम्म सञ्चालन हुने एक्स्पोले डेरी उत्पादन, प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरूलाई प्रोत्साहित गर्नुका साथै किसान, उद्योगी र व्यापारीलाई एकै ठाउँमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनु भयो । यसबाट व्यावसायिक सञ्जालको अवसर सिर्जना गर्नुका साथै उपभोक्तालाई डेरी उत्पादनको महत्व, फाइदा तथा गुणस्तर सम्बन्धी जानकारी दिइने उहाँको भनाई छ । ‘यहाँ डेरी जन्य उद्योगका नयाँ उत्पादनहरू लन्च र ब्राण्डिङ गर्ने अवसर प्रदान हुन्छ । डेरी उद्योगको उत्पादकत्व र कार्य दक्षताको वृद्धि गर्ने हाम्रो लक्ष्य छ,’ बगालेले भन्नुभयो‘साना किसान र व्यवसायीलाई उचित मार्गदर्शन सहितको तालिम तथा अनुदानको बारेमा जानकारी दिनु नै एक्स्पोको उद्देश्य रहन्छ ।’
गत वर्षको एक्स्पो आयोजना गरेपछि दुग्धजन्य उत्पादनको विविधीकरणमा चितवनमा दैनिक १० हजारभन्दा बढी लिटर दूधको खपत हुन थालेको बगालेले जानकारी दिनुभयो । एक्स्पोमा डेरी प्रोसेसिङ तथा पशु आहार उद्योगमा आवश्यक मेशिनरी तथा उपकरण, डेरी उद्योगका लागि उपयोगी सफ्टवेयर, डेरी जन्य उत्पादन, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहार सम्बन्धीका स्टल, पशु औषधी तथा भेटेनेरी सेवा सम्बन्धी स्टल, डेरीलाई उपयोगी हुने प्याकेजिङ उद्योगका स्टल, बैङ्क तथा बिमा कम्पनी लगायतका एक सयभन्दा बढी स्टलहरू रहनेछन् ।
डेरीलाई उद्योगमा जोड्दै यसका उत्पादनलाई निर्यातमुखी बनाउन यो एक्स्पो कोशेढुंँगा हुने चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले बताउनु भयो । ‘उद्योग सङ्घले हरेक किसिमका व्यवसायी, उद्यमीलाई स्थापित गर्न सहयोग गर्दै आएको छ , यस एक्सपोले पनि दूधजन्य उत्पादन वृद्धि गर्दै निर्यात गर्न मदत पुग्नेछ ।’ अध्यक्ष घिमिरेले भन्नुभयो ।
प्रदर्शनीमा डेरीजन्य उत्पादन, मेशिनरी तथा प्राविधिको प्रदर्शनी, कार्यशाला र तालिम समेत सञ्चालन गरिने चितवन उद्योग संघका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । युवा पुस्तालाई डेरी क्षेत्रमा आकर्षण गर्नका लागि डेरीजन्य उद्यमशीलतामा युवाको संलग्नता, अवसर र चुनौती विषयक वक्तृत्वकला प्रतियोगिता, डेरी जन्य उत्पादनको विविधीकरणका लागि सरोकारवाला निकायहरूको प्रयास, उपलब्धी र डेरी क्षेत्रका समस्याको दिगो समाधान सम्बन्धी विज्ञहरुको उपस्थितिमा प्यानल छलफल समेत हुने उहाँले बताउनु भयो । प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । चितवनमा हुन लागेको यो अन्तर्राष्ट्रिय डेरी एक्स्पो दोस्रो संस्करण हो ।








प्रतिक्रिया राख्नुहोस्