तपाईँ सुन्दै हुनुहुन्छः

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेको छ ।

समितिले आज दिउँसो रास्वपाको केन्द्रीय कार्यालय, वनस्थली पुगेर छलफल गरेको हो ।

छलफलमा संवाद समितिका संयोजक तथा कानुन मन्त्री अनिल सिन्हा, सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको उपस्थिति थियो ।

रास्वपाका तर्फबाट उपसभापति डिपी अर्याल, डा स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य र प्रवक्ता मनिष झासहित अन्य केन्द्रीय सदस्यहरू सहभागी थिए ।

कानुनमन्त्री सिन्हाले आगामी फागनु २१ गतेको निर्वाचनका लागि सरकारकातर्फबाट भएका तयारीबारे रास्वपालाई अवगत गराइएको जानकारी दिनुभयो । रास्वपासँगको छलफलपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले रास्वपाबाट निर्वाचनबाहेक अन्य विकल्पबारे कुनै शङ्का नरहेको र सुरक्षा तथा समय व्यवस्थापनका विषयमा मात्र केही जिज्ञासा उठेको बताउनुभयो ।

उहाँले राजनीतिक दलहरूसँग कार्यालयमै पुगेर छलफल गर्न सरकारलाई प्राप्त म्यान्डेटअनुसार अघि बढेको उल्लेख गर्दै यसले निर्वाचनको वातावरण निर्माण भइरहेको राय व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्री खरेलले रास्वपाले निर्वाचनमा सहभागी हुने स्पष्ट सन्देश दिएको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले रास्वपाका सभापति रवि लामिछानेले पदाधिकारीमार्फत सरकारको निर्वाचन तयारीको उच्च प्रशंसा गरेको सन्देश प्राप्त भएकाप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

समितिले निर्वाचनको वातावरण निर्माण गर्न स्वयं सरकार नै दलहरु समक्ष पुगिरहेको जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले समितिसँगको छलफल उत्साहजनक भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button