तपाईँ सुन्दै हुनुहुन्छः

५ महिनामा भारतबाट ९ अर्ब ७७ करोड बढीको खाद्यान्न आयात

'६५ करोडभन्दा बढी राजस्व सङ्कलन'

वीरगञ्ज। मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार (आईसिपी) हुँदै आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ९ अर्ब ७७ करोड ४ लाख ६२ हजार मूल्य बराबरको धान, चामल, मकै , कोदो लगायतका खाद्यान्न भित्रिएको छ । 

बीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ३ अर्ब ८५ करोड ६३ लाख  २०  हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा २ अर्ब ३१ करोड ८० लाख ९० हजार मूल्य बराबरको चामल भित्रिएको छ ।

त्यसैगरी बीरगंज भन्सार आईसिपी नाकाबाट साउन, भदौ, असोज, कार्तिक र मङ्सिर महिनामा २ अर्ब ९६ करोड ६३ लाख २० हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसै गरी बीरगंज नाकाबाट फापर, कोदोको पिठो, माल्ट ,गुल्टेन लगायतका खाद्यान्न ६६ करोड १६ लाख ४२ हजार मूल्य बराबरको भित्रिएको छ भने गहुँ १५ करोड ८० लाख  ९० हजार मूल्य बराबरको भित्रिएको छ ।

धान चामल, मकै, गहुँ, कोदो, फापर लगायतका खाद्य सामग्रीको आयातबाट ५ महिनामा बीरगंज भन्सारले ६५ करोड ७४ लाख ५५ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

गत वर्ष २०८१/०८२ को सो अवधिमा बीरगंज नाकाबाट ७  अर्ब ६७ करोड २ लाख १५ हजार मूल्य बराबरको धान, चामल, मकै, फापर कोदो तथा गहुँ लगायतका खाद्यान्न भित्रिएको र सो बापत ५९  करोड ३८ लाख  ८५ हजार राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button