तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसका ६८ सांसदको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसका ६५ सांसदसहित कुल ६८ सांसदले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिटमाथि सुनुवाइ गर्नेछ।

यसअघि कांग्रेसका सात सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध दायर गरेको रिटमा आफूहरूलाई सरोकारवाला पक्षका रूपमा समावेश गरियोस् भन्दै थप सांसदहरूले निवेदन दिएका हुन्। उक्त निवेदनमा कांग्रेसका ६५ र एक स्वतन्त्र सांसदसहित ६८ सांसदको हस्ताक्षर रहेको छ।

आजको इजलासले सरोकारवाला पक्षका रूपमा समावेश गर्ने माग अनुमोदन गरेपछि यी सांसदहरू कांग्रेसले दायर गरेको मूल रिटको पक्ष बन्नेछन्।

यसैबीच, नेकपा एमालेका तर्फबाट दायर रिटमा ७५ सांसदको हस्ताक्षर समावेश भइसकेको छ। आज कांग्रेसका सांसदहरूको निवेदन पनि स्वीकार भएमा प्रतिनिधिसभा पुनःस्थापना गरियोस् भन्ने मागमा हस्ताक्षर गर्ने सांसदहरूको संख्या १४३ पुग्नेछ।

२५५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ। १४३ सांसदको समर्थन सरकार गठनका लागि पर्याप्त अंकगणितीय संख्या मानिन्छ।

गत मंसिर २२ गते विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सात सांसदले पहिलोपटक रिट दायर गरेका थिए। उक्त रिट र हाल दर्ता भएको निवेदनको कानुनी व्यवस्थापनको जिम्मा पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले लिएका छन्।

खातीले मंगलबार सर्वोच्च अदालतमा निवेदन पेस गरेपछि अदालतले आजका लागि पेसी तोकेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button