तपाईँ सुन्दै हुनुहुन्छः

बाल अभिनयमार्फत समाजका यथार्थ उजागर गर्दै सोफिया स्कुल

बाँके।शब्दभन्दा प्रस्तुति प्रभावशाली र भाषणभन्दा अभिनय गहिरो हुने क्षण सोमबार नेपालगन्जमा देखियो। सोफिया रेसिडेन्सियल इङ्लिस स्कुलको २१औँ वार्षिक उत्सव तथा क्रिसमस कार्यक्रम केवल सांस्कृतिक प्रस्तुति मात्र रहेन, यो अभिभावक र समाजका लागि सोच्ने अवसर बन्यो।

स्कुलकै खेल मैदानमा आयोजित कार्यक्रम राष्ट्रिय गानबाट सुरु भयो। त्यसपछि नाच, नाटक, गीतिनाटक र सांस्कृतिक प्रस्तुतिहरू क्रमशः मञ्चमा आए। विगनर्सदेखि कक्षा १० सम्मका विद्यार्थीले देखाएको आत्मविश्वास, अनुशासन र सिर्जनशीलताले उपस्थित सबैलाई प्रभावित बनायो।

कार्यक्रममा प्रस्तुत नाटकहरू मनोरञ्जनका लागि मात्र थिएनन्। बाल हिंसा, शिक्षाको महत्व, पारिवारिक सम्बन्ध, आमाबुबाप्रतिको दायित्व र बालबालिकाको भविष्यजस्ता विषयलाई विद्यार्थीहरूले सशक्त अभिनयमार्फत प्रस्तुत गरे। साना उमेरका बालबालिकाले समाजका यथार्थ विषय उठाउँदा धेरै अभिभावक भावुक बने। आफ्नै सन्तानको मुखबाट यस्ता सन्देश सुन्दा कार्यक्रमस्थलमा केही क्षण मौनता छायो।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय महासचिव तथा पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले बालबालिकाको प्रस्तुति मनछुने र सोच परिवर्तन गर्ने खालको रहेको बताउनुभयो। अभिभावकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,
“छोराछोरी डाक्टर, इन्जिनियर बनून्, तर आमाबुबालाई वृद्धाश्रममा छोड्ने सन्तान नबनून्। आज समय दिएर असल सन्तान बनायौँ भने भोलि सन्तानले पनि हामीलाई हेर्छन्।”

क्रिसमसको शुभकामना दिँदै राईले क्रिसमसमा सार्वजनिक बिदा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, बाँकेमा सोफिया स्कुलले उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको उल्लेख गर्दै आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका अधिकृत उद्धव श्रेष्ठलगायत अतिथिहरूले विद्यालयको निरन्तर प्रगतिप्रति प्रशंसा गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रमको व्यवस्थापन प्रधानाध्यापक सुशिला बसेलले गर्नुभएको थियो। औपचारिकता र आसनभन्दा टाढा बसेर उहाँको ध्यान विद्यार्थीको प्रस्तुति, शिक्षकको मेहनत र बालबालिकाको उत्साहमा केन्द्रित देखिन्थ्यो।

स्वागतदेखि सञ्चालनसम्म विद्यार्थी स्वयं सक्रिय हुनु कार्यक्रमको अर्को विशेषता बन्यो। बीच–बीचमा विद्यार्थीले नै मन्तव्य राख्ने अभ्यासले विद्यालयले पढाइसँगै बोल्ने, सोच्ने र नेतृत्व गर्ने सीपमा पनि ध्यान दिएको सन्देश दियो।

कार्यक्रमको समापन गर्दै स्कुल विकास समितिका अध्यक्ष के.बी. बसेलले विद्यालय शून्यबाट सुरु भएको यात्रा स्मरण गर्दै साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“स्कुल र अभिभावक मिलेर नानी–बाबुको भविष्य बनाउने हो। हातेमालो गरेर दक्ष र जिम्मेवार जनशक्ति निर्माण गरौँ।”

विद्यार्थीसँगै कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी शिक्षिका प्रतिमा बस्यालले कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग दाङ प्रमुख उपनिर्देशक ओम खड्का, पत्रकार झलक गैरे, निरज गौतम, शंकर खनाल, आलम खान, गजेन्द्र गुरुङ, सन्तोष विष्ट, दिपेन्द्र धिताल, सावित्री गिरिलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

सोफिया स्कुलको यो वार्षिक उत्सव एउटा कार्यक्रम मात्र रहेन। यसले अभिभावक, शिक्षक र समाजलाई सोच्न बाध्य बनायो र भविष्य कस्तो हुनुपर्छ भन्ने सन्देश बालबालिकामार्फत प्रस्तुत गर्‍यो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button