राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न सरकारलाई सांसदहरूको आग्रह
काठमाडाैँ। राष्ट्रियसभाका सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले सरकारले राष्ट्रिय गौरवका आयोजना सकिएपछि मात्रै अरू आयोजनाहरू अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
समितिका सांसदहरू गोपीबहादुर अछामी, जगपसाद शर्मा, उदयबहादुर बोहरा, राजेन्द्रलक्ष्मी गैरेलगायतले वन ऐन र मुआब्जा समस्या र बजेट कम भयो भन्ने कारण देखाएर ठुला योजनाहरू अलपत्र पार्न नहुने विचार व्यक्त गर्नुभयो ।
मदन भण्डारी राजमार्ग, मरिन डाइभर्सन आयोजना, रानी जमरा गुलरिया सिँचाइ आयोजनालगायतका आयोजनाहरूको बजेट घटाएको भन्दै सांसदहरूले जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाका लागि यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति उल्लेख्य मात्रामा हुन नसकेको भन्दै विकासका पूर्वाधार निर्माणमा सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्