तम्घासको अटो वर्कमा आगलागी, एक जना घाइते
गुल्मी। गुल्मी सदरमुकाम तम्घास बसपार्क क्षेत्रमा रहेको एक ग्यारेजमा आगलागी भएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–८ मा अवस्थित सुजता अटो वकसपमा विद्युत् सट भई आगलागी हुँदा वकसप पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीका क्रममा वकसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन् । घाइते सुनारलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले बताउनुभयाे ।
उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा नगरप्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो ।
समयमै दमकल र सुरक्षाकर्मीको सक्रियताका कारण आगो फैलिन नपाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ । आगलागी भएको स्थानको नजिकै पेट्रोल पम्प तथा मैत्री यातायातको चार्जिङ स्टेसन समेत रहेको हुँदा ठुलो जोखिम उत्पन्न भएको थियो ।
तर समयमै आगो नियन्त्रणमा आएसँगै सम्भावित ठुलो क्षतिबाट जोगिन सफल भएको प्रहरीले जनाएको । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्